डीभी चिठ्ठाको आवेदन खुल्यो, भर्ने तरिका सहित ।

सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।
यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।
अनलाइन फारम भर्ने तरिका -
सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
दर्ता गर्दा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।
र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो । डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मङ्गलबार, मे २, २०१७ (२०७४ वैशाख १९) वा त्यसपछिwww.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो, दूताबासले भनेको छ ।

पहिरोले पुरिएर गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु

असोज ५ गते । वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् । पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर थापा रहेका छन् ।
गएराति वर्षाका कारण उद्योग माथिबाट ढिस्कोसँगै खसेको पहिरोमा पुरिएर घाइते बनेका थापाको उपचारका क्रममा राति नै स्थानीय स्वास्थ्य चौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख महेन्द्र नेपालले बताउनुभएको छ । पहिरोमा पुरिएर जुनिया–५ का ३५ वर्षीय खेमराज थापा, उनकी श्रीमती ३२ वर्षीय सुनिता थापा, ३ वर्षीया छोरी हीरा थापा र सात वर्षीया वर्षा थापा र दिब्रुङ–६ का ३१ वर्षीय दीपक थापा घाइते भएका छन् । उनीहरुको स्थानीय शान्तिपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
गएराति परेको अविरल वर्षाका कारण गुल्मीको विद्युत् सेवासमेत अवरुद्ध बनेको छ । रासस

खाना पकाउँदा के नगर्ने ?

खाना कसरी मीठो बनाउने भनेर असाध्यै धेरै सोचिरहेका हुन्छाँै तर कसरी सफा तरिकाले पकाउने भन्ने कुरामा ध्यान गएको हुँदैन । पानी पखाल्दा र आगामा पकाउँ सब ठिक हुन्छ भन्ने मान्यता हुन्छ । तर, यसले शरीरलाई हानी गरिरहेको हुन्छ बिरामी भएपछि अर्कै कारणले ठान्छौ । कतै भान्साकै हेलचक्र्याइँले त भएको छैन ?

खाना पकाउनुअघि र नपकाएको माछामासु समातेपछि साबुनपानीले हात धुनुहोस् । यसो गर्दा खानामा जीवाणु पस्न पाउँदैन ।

खाना पकाउँदा एप्रोन प्रयोग गर्नुहोस् ।

रुघा लागेको छ अथवा सिंगान बगिरहेको छ भने खाना पकाइरहेको बेला हातले कुनै पनि खानेकुरा नछुनुहोस् ।

मासु काट्न अलग चपिङ बोर्डको व्यवस्था गर्नुहोस् । नपकाएको मासुमा जीवाणु हुन्छन् र एउटै चपिङ बोर्ड प्रयोग भएमा यस्ता जीवाणु चपिङ बोर्डमा काटिने सलाद लगायतमा पस्न पुग्छन् ।

बजारमा पाइने तरकारी र फलफूलमा विषादि बढी प्रयोग हुने भएकाले पकाउनुअघि÷खानुअघि तरकारी र फलफूललाई मनतातो नुनपानीमा दुई घण्टाजति भिजाउनुहोस् । यसरी भिजाएको फलफूल र तरकारी चिसो पानीमा पखालेर काट्नुपर्छ ।

हात ओभानो राख्न भान्छामा राखिने तौलिया दिनदिनै धुनुपर्छ । खासगरी माछामासु समातेको हात पुछ्न प्रयोग गर्ने तौलियालाई तातो पानीमा धुने गर्नुहोस् । यसो गर्नाले तौलियाबाट जीवाणु सर्न पाउँदैन ।

तरकारी, फलफूल र माछामासु ताजा राख्न फ्रिज प्रयोग गरिन्छ । यसरी राखिएका सामग्रीले फ्रिजभित्रै जीवाणुका अवशेष छोड्ने भएकाले फ्रिजलाई सफा गरिरहनुपर्छ । 

फलामको भाँडामा खाना पकाउँदा हुने फाइदा

धेरैले फलामको भाँडामा खाना बनाउँछन् । जुन हाम्रो परम्पराको एउटा अंश पनि हो । सामान्य नजरले पनि यसलाई राम्रो मानिन्छ । यति मात्रै होइन, यससँग जोडिएका केही स्वास्थ्यका लागि लाभदायक कारण पनि छन् ।

जब हामी फलामको भाँडामा खाना बनाउँछौँ, यसको केही अंश हाम्रो खानामा मिसिएर शरीरमा पुग्छ । जसले रगतमा हेमोग्लाबिनको मात्रा बढाउँछ   जसले गर्दा रक्तअल्पता जस्ता समस्या आउनबाट जोगाँउछ ।

पालक र टमाटर जस्ता आइरन भएको तरकारी जब फलामको भाँडामा पकाइन्छ । यीनमा पोषकतत्वको मात्रामा वृद्धि हुन्छ ।

आजकाल धेरैले खाना राम्रो देखाउनका लागि एल्युमिनियमका भाँडाको प्रयोग गर्छन् । तर, लामो समयसम्म यस्ता भाँडामा खाना बनाएर खानाले अपच, पाचन प्रणालीको कार्यक्षमतामा कमी आउने जस्ता समस्या उत्पन्न हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् । @swasthyakhabar

स्लिम बन्ने ६ घरेलु उपाय

१) नेपालीको बानी खाना खाँदा एकैचोटी र बढी खाने हुन्छ । हामी खाने समयको अन्तर  लामो राखेर हामी धेरै खाइरहेका हुन्छौं । स्वस्थ रहन र तौल नियन्त्रण गर्न हामीले यो बानी सुधार्नै पर्छ । कम्तीमा दिनको ४ पटक खाने तर एकदम कम कम खाने बानी बसाउनु पर्छ । बिहानको ब्रेकफास्ट हामीलाई अत्यन्तै जरुरी हुन्छ । बे्रकफास्टमा –फापरको रोटी, जौ, छाली निकालेको दूध, अण्डाको सेतो भाग र पर्याप्त मात्रामा फलफूल खानाले स्लिम बन्न मद्धत गर्छ ।

२) बिहानको खानामा आफनो उचाइ र उमेर अनुसार भात खाने । खानामा हरियो  सागसब्जी, पर्याप्तमात्रामा सलाद र केही मात्रामा प्रोटिनयुक्त खानेकुरा खाने । शाकाहारीले दही, तोफू, पनिरलगायतका खाद्यपदार्थ खाने । मांशाहारीले चाहिँ कम तेल राखेर बनाएको कुखुरा र माछाका परिकार खाने  । सकेसम्म रातो मासु कम गर्ने । अतः ठिक्कको उमेर तथा उचाइ भएकाहरुले खानामा भात ३० देखि ४० ग्राम खाएमा तौल नियन्त्रण हुन्छ  र शरीरलाई आवश्यक तत्व पनि पुग्छ ।

३) खाजाको समयमा विभिन्न फलफूल खाने । भुजा, केराउ वा चनाको तरकारी तथा चिउरा र तरकारी खान सकिन्छ । संभव भएसम्म मोही पिउने र फलफूल खान  जोड दिने । हामीमा जुस पिएमा त्यसले फलफूलको काम गर्छ भन्ने भ्रम छ । तर जुसले हाम्रो तौल झनै बढाउने काम गर्छ । फलफूलको फाइबर नै शरीरलाई आवश्यक पर्ने भएकोले पूरै फलफूल काटेर खाने गर्नुपर्छ । जसले तौल पनि घट्छ ।

४) बेलुकाको खाना सक्दो छिटो खाने गर्नुपर्छ । सकेसम्म ६ देखि ७ बजेको समयमा खाना  खाइ सक्नुुपर्छ । साँझको खानामा भातभन्दा रोटी बढी खाने गर्नुपर्छ । त्यस्तै खाना खानेबित्तिकै सुत्दा तौल बढ्ने प्रवल सम्भावना हुन्छ । खाना खाएको १/२ घण्टासम्म नसुत्ने, हिँडडुल गर्ने वा अन्य काम गर्नु पर्छ । राति ढिलोमा १० बजे सुत्ने र बिहान उज्यालो हुनुभन्दा एकघण्टा अगाडि उठ्ने बानी बसाल्नुपर्छ ।

 ५) दिनभरीमा कम्तीमा ३ लिटर पानी पिउनु अनिवार्य हुन्छ । पानीको सट्टा जुस र अरु पेय पदार्थ पिएर पुग्दैन , सादा पानी नै पिउँनुपर्छ । पार्टी वा कार्यक्रममा जाँदा  ग्रेभी खानेकुरा सकेसम्म कम खाने र त्यसको सट्टा पिस खानेकुरा लिने गर्नुपर्छ । ग्रेभि र मसलादार खानाको सट्टा हामीले सकेसम्म सलाद खान जोड दिने,अल्कोहल र बियरजस्ता पेयपदार्थ सेवन नगर्ने, सकारात्मक सोच राख्ने, सकेसम्म आफूलाई खुशी राख्नेजस्ता बानी बसाल्नुपर्छ ।

६) खाद्य सामग्री किन्न जाँदा पनि फाइबरयुक्त र कम फ्याट भएका खाघपदार्थ किन्ने गर्नुपर्छ । विषेशतः फापरबाट बनेका खानेकुरा खाने गर्नुपर्छ । खानेकुरामा आलु, तरुल, सखरखण्डलगायत गुलिया खानेकुराहरुमा जोड दिनु हुँदैन । चिया तथा कफी खानुपर्दा चिनीको सट्टा भेनिलाको एस्ट्रयाक प्रयोग गरे राम्रो हुन्छ ।

@Swasthyakhabar

लाइसेन्सको ट्रायलमा फेल भएकालाई एक महिनामै फेरि मौका

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि  प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् ।
सवारी तथा यातायात ब्यवस्था ऐन-२०४९मा गरिएको संशोधन प्रस्तावमा ट्रायल दिएको एक महिनामै फेरि ट्रायलका लागि आवेदन दिन सकिने उल्लेख छ ।
ट्रायल फेल भएकाले अहिले ९० दिन अर्थात ३ महिनासम्म मौका पाउँदैनन् । ऐनको संशोधन मस्यौदामा भने ३० दिनपछि नै ट्रायल दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसअघिको व्यवस्थाले धेरैलाई सास्ती भएको र अव्यवहारिक देखिएको भन्दै यातायात ब्यवस्था विभागले यस्तो प्रस्ताव गरेको हो ।
विभागले तयार गरेको मस्यौदा आइताबर मात्रै मन्त्रालयमा पठाइएको छ । मन्त्रालयमार्फत यो संसोधन प्रस्ताव संसदमा पेश हुनेछ । संसदको परित गरेपछि यो लागू हुनेछ ।
पटक-पटक लिखित परीक्षा हटाइयो
यसैगरी नयाँ संशोधनामा कुनैपनि सवारी चालक अनुमति प्राप्त गरिसकेको चालकलाई अर्को लाइसेन्सका लागि लिखित परीक्षा दिनुपर्ने व्यवस्था पनि संशोधनमा समावेश गरिएको छ ।
अहिले वर्ग थप गर्न पनि लिखित परीक्षा दिनुपर्ने अवस्था छ । यसलाई अब हटाउन लागिएको विभागले जनाएको छ ।
उमेर हद बढाउन प्रस्ताव
संशोधन प्रस्तावमार्फत लाइसेन्स लिन पाउने उमेरहद पनि बढाइएको छ । अब ठूलो सवारीको लाइसेन्सका लागि अब २५ वर्ष उमेर पुगेको हुनुपर्नेछ । मझौला तथा साना सवारीको लाइसेन्सका लागि अब २१ वर्ष पुगेको हुनुपर्ने छ ।
दुई पांग्रे सवारीका लागि भने १८ वर्षको उमेर हद तोकिएको छ । अहिले ठूला सवारीका लागि २१ र सानाका लागि १८ वर्ष उमेर हद छ । मोटरसाइलको लाइसेन्स अहिलेसम्म १६ वर्ष पुगेकाले पाइरहेकै छन् ।
ऐन संशोधन भएपछि सानै उमेर लाइसेन्स लिनसक्ने अवस्थको अन्त्य हुने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । अब गाडी चलाउनेको उमेर न्युनतम् २१ वर्ष पुगेको हुनेछ । ‘सानो उमेरमा पर्याप्त दक्षता विनानै गाडी चलाउँदा दुर्घटनाको दर बढिरहेको छ । त्यसैले कानुनी रुपमै परिपक्व भएपछि मात्रै चालक अनुमतिपत्र दिने गरी यो व्यवस्था प्रस्ताव गरेका हौं’ श्रेष्ठले भने ।
शैक्षिक योग्यता तोकिएन, १० वर्षमा लाइसेन्स नवीकरण
विभागले लाइसेन्सका लागि कक्षा १० पास गरेकै हुनुपर्ने व्यवस्था राख्न खोजेपनि अन्तिम समयमा अव्यवहारिक हुने भन्दै त्यसलाई हटाइएको छ । अब पनि लाइसेन्स लिनका लागि कुनै शैक्षिक योग्यता आवश्यक हुनेछैन । तर, विभिन्न मापदण्डहरु भने ऐनले व्यवस्था गरेको छ ।

भाइबरबाट ५२ देशमा निशुल्क फोन गर्न सकिने

भाइबरबाट राति ८ बजेदेखि १० बजेसम्म विभिन्न ५२ मुलुकहरुमा निशुल्क फोन गर्न सकिने भएको छ। भाइबर आउटबाट ५२ मुलुकका ल्याण्डलाइन वा मोबाइल फोनमा १० मिनेटसम्म निशुल्क कुरा गर्न सकिने छ।  अफर सेम्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म लागू हुने भाइबरले जनाएको छ।
 
यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ। अथवा भाइबरको किप्याडमा चाहेको नम्वर डायल गरेर यो सेवा लिन सकिने छ। यसका लागि देशको कोड भने सही थिच्नुपर्दछ।  
 
अस्ट्रेलिया, बहाराइन, बाङ्गलादेश, बेल्जियम, भुटान, ब्रुनेइ डारुसुलाम, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ, मलेशिया, नेपाल, नेदरल्याण्ड, न्यू जियल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल कतार, रुस, साउदी अरेयिबा, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, भिएतनाम देशमा निशुल्क कल गर्न सकिने भाइबरले जनाएको छ।