General Knowledge

गरिबीको कारण विद्यालय छाड्न बाध्य पुजा खत्रीका लागि सहयोग जुट्ने भएको छ । खत्रीले विद्यालयबाट निष्काशन गरिदिन भन्दै लखेको ‘मार्मिक पत्र’ समाजिक सञ्जाल हुँदै मिडियामा सार्वजानिक भएपछि सहयोग जुट्ने भएको हो । 
बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पुजा खत्रीले ‘घरमा खानेकुरा छैन । कापी कलम किन्ने पैसा छैन सर मलाई विद्यालयबाट निष्काशन गरिदिनुस्’ भन्दै प्रधानाध्यापकलाई पत्र लेख्नुभएको छ । जमुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ का विद्यार्थी खत्रीको उक्त पत्र सार्वजनिक भएपछि अहिले सहयोग गर्नेहरूको ताँती लागेको छ । 
सामाजिक सञ्जालमार्फत पुजालाई सहयोग गर्ने घोषणा गरिरहेका छन् । पुजाका नाममा बेनीमा रहेको गरिमा विकास बैङ्कमा खाता खोलिएको छ । पुजाको सहयोगका लागि कर्मचारी मिलन केन्द्र, म्याग्दीले १५ हजार पाँच सय, म्याग्दी प्रवासी नेपाली सङ्घ मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष राम खड्काले १० हजार, मोना एसिया प्यासिफिक संयोजक ददीवल खड्काले १० हजार, लायन्स क्लब बेनी पिस सिटीले १० हजार बराबरको समग्री प्रदान गर्नुभएको छ । 
सहयोगीबाट प्राप्त सामग्री प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, वडाध्यक्ष कृष्णबहादुर बानियाँ, विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले उहाँको घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । वडाध्यक्ष बानियाँले पुजाको नाममा खोलिएको खातामा विभिन्न जिल्लाबाट करिब ८० हजार जम्मा भएको बताउनुभयो ।

खत्रीले भदौ १ गते सबैको मन छुने गरी पत्र लेख्नुभएको थियो । ‘घरमा खानी खर्च न लेख्ने पढ्ने कापी कलम नभएकोले हो सर म बाध्यताले विद्यालयमा आउन सकिन मलाई पढाइदिने कोहि छैनन्’ उनको पत्रमा भनिएको छ, ‘अबदेखि मलाई रेस्टिकेट गराइदिन हार्दिक अनुरोध गर्दछु । ’
पुजाको यस्तो पत्र सार्वजनिक भएपछि विभिन्न स्थानबाट सहयोगको आश्वासन आइरहेको छ । प्रजिअ अधिकारीलगायतका सरकारी टोलीले पुजासहित उनका बहिनी र भाइको समेत पठनपाठनलाई निरन्तरता दिने व्यवस्थाका लागि आवश्यक सहयोगको पहल भएको बताएका छन् । अधिकारीले भन्नुभयो, बाबु आमाले छाडेर गएपछि १२ वर्षीय पुजालाई ठूलो दुःख र पीडा भएको रहेछ । 
पुजाको ११ वर्षीय बहिनी पुष्पा खत्री कक्षा पाँचमा अध्ययनरत छिन् । आर्थिक अवस्था कमजोर भएपछि आमाले नै पुष्पालाई केही वर्ष अघि काठमाडौँ स्थित एक घरमा काम गर्ने गरी पठाउनुभएको छ । सात वर्षीय पुजन खत्री स्थानीय एक विद्यालयको कक्षा दुईमा अध्ययनरत छन् भने अर्की नौ वर्षीय पुनम खत्री कक्षा ४ मा पढ्छिन् । 
म सानै हुँदा बाबा आमा मिलेर बस्नुभएको थियो । बाबाले ज्याला मजदुरी गरेर हामीलाई पालनपोषण गर्नुभएको थियो, पुजाले भन्नुभयो, जव बाबाले मादक पदार्थ पिउन थाल्नुभयो त्यसबाट हाम्रो घर बिग्रियो । उहाँका अनुसार बुबाले मादक पदार्थ सेवन गर्न थालेपछि बुबा आमाकाबीच दैनिकजसो झै–झगडा हुने गथ्र्यो । यहीँकारण आमाले बुबालाई छाडेको र पछि बुबाले पनि घर छाडेको उहाँले बताउनुभयो । 
मनमा ठूलो पीडा र दुःख सहन नसकेर मैले विद्यालयमा त्यस्तो पत्र लेखेकी हुँ, पुजाले भन्नुभयो, पढ्ने वातावरण मिलेमा उच्च शिक्षा आर्जन गरेपछि भविष्यमा म जस्ता गरिबीका कारण शिक्षाबाट बञ्चित भएकाको सेवा गर्ने बिचार छ ।
साभार- गोरखापत्र