यी रोगका कारण पनि मानिस दुब्लो हुन सक्छ

आहा, कस्तो स्लीम शरीर, कसरी त्यस्तो बनाउने होला ? अलिकता मोटो भयो कि मानिसहरु दुब्ला मानिसलाई हेर्दै सोच्ने गर्छन् । तर, दुब्ला मानिसको सोचाई कस्तो होला ? दुब्ला मानिसहरु पनि मोटाहरूलाई हेर्दै त्यस्तै सोच्ने गर्छन्, ‘कसरी मोटाउने होला ? त्यस्ता मानिसहरु चाहिँ जति गरेपनि मोटाउनै सक्दैनन् ।
कस्तो व्यक्तिलाई दुब्लो भन्ने कुराको निर्धारण तौलले गर्छ, जसलाई ‘बडीमास इन्डेक्स’ भनिन्छ । यो १८।५ बिएमआईभन्दा कम भयो भने त्यस्ता व्यक्तिलाई दुब्लो र २४।९ बिएमआई भन्दामाथि भएमा त्यसलाई मोटोपन भनिन्छ । सामान्यतया मानिसको तौल १८।५ देखि २४।९ बिएमआई हुनुपर्छ । बिएमआई गणना गर्न तौललाई उचाईले भाग गर्नु पर्छ ।
युवा अवस्थामा दुब्लो हुनु सामान्य कुरा हो । यो किशोरावस्थामा पुग्दा हुने परिवर्तनको नतिजा हो । किशोरावस्थामा शरीरले पहिलेभन्दा छिटोछिटो पौष्टिक पदार्थ खर्च गर्छ । मानिस दुब्लाउनुको पहिलो कारण खाना नै हो ।  खानामा पौष्टिक तत्वको कमी, अरुची, समयमा या लामो समयसम्म नखाने वा पेटभर नखाने, डाइटिङ्ग गर्ने जस्ता कारण दुब्लो र ख्याउटे बन्नसक्छ । विशेषगरी भन्नुपर्दा इनर्जी धेरै खर्च हुने र इनर्जी बचत कम हुने हुँदा व्यक्ति दुब्लाउँछ ।
त्यस्तै विभिन्न खाले रोग पनि दुब्लाउनुका कारण हुन सक्छन् । यद्यपि बढी मोटो हुनु राम्रोे होइन, तर उमेर र उचाइअनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।

त्यसैगरी, हर्मोनल रोगहरु जस्तै मधुमेह, थाइराइड, एडिसन डिजिज, श्वासप्रश्वासका बिरामी धेरै नै दुब्ला हुने गर्छन् । मुटु, हृदयाघात तथा डिप्रेशन बिरामी पनि दुब्लाउँदैं जान्छन् । इन्फेक्सन, क्षयरोग टी.वी., एचआइभी/एड्स, क्यान्सर जस्ता रोग पनि दुब्लोपनाका कारक बन्छन् । क्यान्सरको प्रमुख लक्षण नै मानिसको तौल घट्दै जाने हो ।

क्यान्सर लागेमा क्यान्सर सेलले हर्मोन निकाल्छ । त्यसलाई प्यारान्यु प्लास्टिक सिन्ड्रोम भनिन्छ । यो हर्मोन तथा क्याटेक्सीनका कारण तौल घट्दै जान्छ । क्यान्सरका बिरामीको पाचन शक्ति पनि कम भएर जाने हुँदा अरुची पनि बढ्दै जान्छ । जसले गर्दा क्यान्सरका बिरामीहरू दुब्लाउँदै जान्छन् ।
थाइराइड हाइपो र हाइपर गरी दुई प्रकारका हुन्छन् । हाइपो थाइराइडका कारण बिरामी मोटाउँदै जान्छन् भने हाइपर थाइराइडमा दुब्लाउँदै जान्छन् । हाइपर थाइराइडमा हर्मोनका कारण बिरामी दुब्लाउदै जान्छन् । जसले मुटुको चाल तथा वेसल मेटावोलीक रेट बढाउने गर्छ ।
बच्चा समयभन्दा पहिला नै जन्मेको छ भने पनि दुब्लो हुन्छ । यसको वृद्धि विकास राम्रोसँग हुन सक्दैन । त्यस्ता बच्चामा पाचन शक्तिमा कमी हुन्छ भने जेनेटिक कारण पनि दुब्लो हुने हुन्छन् । बच्चाहरुलाई प्रशस्त मात्रामा पौष्टिक तत्वको कमी हुँदा दुब्लो हुनेगर्छन् । त्यसकारण बच्चाको वृद्धि विकासका लागि खानामा विशेष ध्यान दिनुपर्छ ।
यदि मानिस निरन्तर दुब्लाउँदै गएको छ या तौल घट्दै गएको छ भने एकपटक चिकित्सकसँग परामर्श गर्नुपर्छ । दुब्लायो भन्दैमा कति केजी तौल घटेमा त्यसलाई दुब्लायो भन्ने यो कुरा बुझ्न जरूरी छ । १८० दिनमा १० प्रतिशत तौल कम भएको छ भने एकपटक चिकित्सकसँग परामर्श लिनुपर्छ । किनभने तपाईलाई कुनै पनि किसिमको हर्मोनल रोगका कारण यस्तो भएको हुनसक्छ । खानाको अरुची या कुनै किसिमको रोगका कारणले हो, त्यसको निराकरण गर्नुपर्छ ।
मोटा व्यक्ति तौल कम गर्न डाइटिङ्ग गर्ने गर्छन् । जसका कारण पनि कहिलेकाही धेरै नै दुब्लाउने हुन्छ । डाइटिङ्ग गर्दा शरीरलाई चाहिने शक्ति कम हुन्छ । नियमित व्यायाम गर्ने व्यक्तिलाई दैनिक २१०० क्यालोरी र व्यायाम नगर्ने व्यक्तिलाई १८०० क्यालोरीको आवश्यकता पर्छ । क्यालोरी कम भए शरीरलाई नकारात्मक असर पर्ने गरी दुब्लाउने हुन्छ ।  शरीरका लागि आवश्यक पर्ने भिटामिन पनि कम हुन्छन् । त्यसैले तौल घटाउन धेरै डाइटिङ्ग गर्नु राम्रो मानिदैन । सन्तुलीत तरिकाले डाइटिंग गर्नु उपयुक्त हुन्छ ।
दुब्ला व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउछ । शरीरलाई चाहिने रोग प्रतिरोधात्मक क्षमता भिटामिन तथा मिनरलबाट आउछन् । यी तत्वको शरीरमा कमी भएमा कोषिकाहरुले राम्रोसँग काम गर्न सक्दैनन् । जसका कारण शरीरमा संक्रमण हुने संभावना हुन्छ । बच्चाहरूमा पनि पखाला लाग्ने, कुपोषण तथा संक्रमण हुने संभावना बढी हुन्छ ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post