लोकसेवाबाट भर्ना रोकिदैछ भन्ने हल्लामात्रै हो : लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् ।
आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहेको मन्त्री पण्डितले बताए ।
‘स्थानीय सरकार, प्रदेश सरकार विदेश गएको गएकै छन्, परराष्ट्र सम्बन्ध विस्तार गरिरहेका छन् । त्यो अधिकार संविधानले दिएको छ ? केन्द्रले सोध्यो भने हामी छुट्टै सरकार हौं भन्छन्, यसो भनेर देश चल्छ ?’ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले तीन तहका सरकारबीच समन्वय गर्न नयाँ कानुन बनिरहेको बताए । उनले सबै तहका कर्मचारीको वृत्ति विकास हुने गरी कर्मचारी समायोजन गर्ने भन्दै सचिव थपलियाले एक हप्ताभित्र कर्मचारी समायोजनमा केही प्रगति हुने जानकारी गराए ।
दुर्गममा कर्मचारी जानै नमान्ने प्रवृत्ति समस्याको रुपमा देखिएको भन्दै सचिव थपलियाले विकास निर्माणमा तीन तहका सरकारबीचके समन्वयमा केही खड्किएको बताए ।

अब सुत्केरी बिदा ९८ दिन

सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले पनि ९८ दिन सुत्केरी विदा पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।
जटिल शल्यक्रिया गर्नुपर्ने भएमा वा विदा अपुग भएमा चिकित्सकको परामर्श बमोजिम थप एक महिना बिदा गर्न सकिनेछ । साथै पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन विदा दिने प्रस्ताव पनि गरिएको छ ।
विधेयकअनुसार सरकारी, गैर सरकारी वा निजी संघ संस्थामा कार्यरत महिलाले सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्म तलबसहित प्रसुति बिदा पाउने छन् । दफा १३ मा भनिएको छ, ‘कुनै गर्भवती महिलालाई बिदा अपुग हुने भएमा स्वास्थ्यकर्मीको परामर्श बमोजिम थप एक महिना तलबसहित प्रसुति बिदा पाउने अधिकार हुनेछ ।
चिकित्सकको राय बमोजिम प्रजनन स्वास्थ्य रुग्नता (मर्बिडिटी) का कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भए शल्यक्रिया हुनु अघि वा पछि ३० दिन तलबी बिदा पनि पाउनेछन् ।
पत्नी सुत्केरी हुने भएमा पुरुष कर्मचारीलाई समेत प्रसुति स्याहारका लागि १५ दिन पारिश्रमिकसहित बिदा दिनुपर्ने व्यवस्थालाई विधेयकमा निरन्तरता दिइएको छ ।
रोजगारदाता संघ संस्थाले पनि आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई बर्षसम्म कार्यालय समयमा आमाको दुध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने विधेयकमा उल्लेख छ । मृतक शिशुलाई जन्म दिएमा वा जन्मिएपछि शिशुको मृत्यु भएमा पनि बिदा पाउने अधिकार कटौती नहुने व्यवस्था विधेयकमा छ ।
हरेक महिलाले भेदभावरहित प्रजनन सुविधा पाउनुपर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । राजनीतिक आस्था, जात, धर्म, वर्ग, भूगोल लगायतका आधारमा स्वास्थ्य अधिकार हनन हुने गरी भेदभाव गरे एक बर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्छ ।
विधेयकको दफा २८ मा कसैलाई पनि सेवा लिने व्यक्तिको उत्पत्ति, धर्म, वर्ण, जाति, लिङ्ग, पेशा, यौनिक तथा लैङ्गिक पहिचान, शारीरिक वा स्वास्थ्य अवस्थाका कारण भेदभाव गर्न नपाइने उल्लेख छ । वैचारिक आस्था, अपाङ्गता, वैवाहिक स्थिति, गर्भावस्था, कुनै रोग वा जिवाणुबाट संक्रमित रहेको अवस्थामा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारमाथी कुनै किसिमले भेदभाव गर्न नपाइने भनिएको छ ।
यसैगरी गर्भवती सेवा लिनबाट बञ्चित गरेमा, इन्कार गरेमा, जन्मको प्रमाणपत्र नदिएमा भने ६ महिनासम्म कैद वा ५० हजारसम्म मात्रै जरिवानाको व्यवस्था पनि विधेयकमा छ । गोपनीयता -गर्भवती महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित सूचना, काजजात तथा सेवाग्राहीलाई प्रदान गरिएको सेवा) भङ्ग गरे ५० हजार सम्म जरिवाना हुनेछ ।
गर्भपतनसम्बन्धी व्यवस्था
गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न पाउने यसअघिकै व्यवस्थालाई विधेयकले निरन्तारता दिएको छ । तर, गर्भपतन नगराउँदा गर्भवती महिलाको ज्यान खतरामा पर्न सक्ने अवस्थामा भने जुनसुकै अवधिको गर्भपतन गर्न सकिने छ ।
‘गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्म गर्भपतन गर्न पाउने अधिकार हुनेछ’ विधेयकको दफा १५ को ‘क’ र ‘ख’ मा उल्लेख छ, ‘गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको रायसहित त्यस्ती महिलाको मञ्जुरी बमोजिम जुनसुकै अवधिको गर्भपतन गर्न सकिने छ ।’
बिरामी रिफर गर्न कडाइ
मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी विधेयकमा आफैं सक्षम हुँदाहुँदै आफ्नो संस्थामा उपचाररत बिरामीलाई अन्यत्र रिफर गर्ने चिकित्सक वा स्वास्थ्य संस्थालाई कारवाहीको व्यवस्था गरिएको छ । विधेयकमा स्पष्ट कारण बिना रिफर गर्नेहरुलाई ६ महिनासम्म कैद वा ५० हजार जरिवाना वा दुबै सजाय गर्न सकिने व्यवस्था छ ।

अन्ततः धुर्मुसले चितवनमै बनाउने भए क्रिकेट रंगशाला

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जनसहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कस्सिएको चार महिनाभन्दा बढी भयो । यसबीचमा देशका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाको अध्ययन- मूल्यांकनपछि उनी अन्ततः चितवनमा अडिएका छन् ।
ललितपुरको गोदावरीमा रहेको जग्गा छनोट गरी खेलकुद मन्त्रालयमा प्रस्तावसमेत पठाइएको थियो । तर, प्राविधिक टोलीले जग्गा अनुपयुक्त भएको ठहर गर्‍यो ।
त्यसपछि धुर्मुस चितवन पुगेका हुन् । भरतपुर महानगरपालिकाले पहिले नै रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेसनलाई आमन्त्रित गरेको थियो ।
अब कुनै व्यवधान नआए चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण हुनेछ । यसका लागि केही दिनभित्रै धुर्मुस-सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता हुने मेयर रेणु दाहालले बताइन् । ‘हामी अहिले सो जग्गा प्राप्तिको लागि आवश्यक प्रक्रियामा छौ, केही दिनमै टुंगो लाग्छ,’ उनले भनिन् ।
दाहालका अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको हो । सट्टाभर्नामा क्याम्पसलाई अर्को जग्गा दिने महानगरपालिकाको योजना छ ।
करिब २५ विघा प्रस्तावित जग्गा रंगशाला निर्माणका लागि सबै हिसाबले उपयुक्त रहेको फाउन्डेसनले पनि ठहर गरेको छ ।
फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस-सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा सम्पन्न हुने मेयर दाहालले बताइन् ।
आर्थिक स्रोत कसरी जुटाउने भन्ने विषय चाहिँ छलफलको क्रममा नै रहेको उनको भनाइ छ । ‘हामीले जग्गा मात्र दिएर बाँकी सबै जिम्मेवारी उहाँहरु -धुर्मुस-सुन्तली फाउन्डेसन) को टाउकोमा हालिदिन खोजेका होइनौं । रंगशाला निर्माणको सम्पूर्ण प्रक्रियामा हामी जवाफदेही हुनेछौं । भोलि आर्थिक कारणले निर्माण अलपत्र हुने अवस्था आउन दिँदैनौं’, मेयर दाहालले भनिन् ।
धुर्मुस-सुन्तली फाउन्डेसनले यसअघि सर्वसाधारणबाट सहयोग संकलन गरेर चारवटा नमूना बस्ति निर्माण गरिसकेको छ । तर, रंगशाला निर्माणका लागि सहयोग आह्वान गर्ने/नगर्ने भन्नेबारे टुंगो नलागिसकेको मेयर दाहालले प्रतिक्रिया दिइन् ।
सामाजिक अभियन्ता धुर्मुसले भने जग्गा प्राप्ति हुनासाथ रंगशाला निर्माण सुरु गर्न आफूहरु तयारी अवस्थामा रहेको बताए । ‘हामी शिलान्यास गरेको २ वर्षभित्र एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि सक्षम छौं,’ उनले अनलाइनखबरसँग भने ।

पैसामा केरमेट गरे ३ महिना जेल र ५ हजार रुपैयाँसम्म जरिवाना हुने।


कानुनमा के व्यवस्था छ त हेर्नुस-

नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस्। नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ।
फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो। उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन। त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’ यो ऐन आउँदो भदौ १ देखि लागू हुँदैछ। अाजकाे कान्तिपुर दैनिकमा समाचार छ।
नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो। यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो। राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले अब कानुनले नोट फोहोर गर्ने कार्यलाई फौजदारी कसुर मानेकाले कानुन पालना गराउने निकायले सोहीअनुसार कारबाही र जरिवाना गर्ने बताए ।
नक्कली नोट वा सिक्का (खोटा) बनाएको पाइए १० वर्षसम्म कैद र लाख रुपैयाँसम्म जरिवाना हुनेछ। झुत्रा नोट दुरुपयोग गर्नेले पनि कारोबाही भोग्नुपर्नेछ। त्यस्ता नोट कानुनबमोजिम नष्ट नगरी कुनै लाभ पाउने बदनियतले प्रयोगमा ल्याएको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

ट्वाइलेटको २ फ्लस बटनका बारेमा रोचक जानकारी

यदि तपाइँले ट्वाइलेटको फ्लस बटनका बारेमा ध्यान दिनुभएको छ भने थाहै छ होला कि फ्लसमा दुईवटा बटन हुन्छन् । आखिर दुबै बटनको काम पानी फ्लस गर्नु हो भने आखिर एउटाले काम चल्ने ठाउँमा किन दुईवटा चाहियो ?
यसको इतिहास छ । दुईवटा फ्लसको अवधारणा अमेरिकाका औद्योगिक डिजाइनर भिक्टर पापानेकले गरेका थिए । उनले सन् १९७६ मा आफ्नो किताब डिजाइन फर द रियल वल्र्डमा यसको अवधारणा पहिलोपटक ल्याएका हुन् । समयसँगै प्रविधिले फड्को मारेको छ र उनको अवधारणाले मूर्तरुप लिएको छ ।
डुअल फ्लसमा एउटा सानो र अर्को ठूलो आकारको बटन हुन्छ । यी दुबै बटनको फरक फरक एक्जिट भल्ब हुन्छ र पानीको लेभल पनि दुबैको फरक फरक हुन्छ ।
यी दुईमध्ये सानो चाहीँ बटन थिच्दा अधिकतम साढे तिन देखि चार लिटर सम्म पानी रिलिज हुन्छ । त्यस्तै ठूलो बटन थिच्दा ६ देखि ९ लिटरसम्म पानी ट्वाइलेटमा फ्लस हुन्छ । अर्थात् पिसाब बगाउनका लागि सानो बटन तथा दिसा लगायतका ठोस फोहोर बगाउनका लागि ठूलो बटन थिचेर फ्लस गर्दा उपयुक्त परिमाणमा पानीको खर्च हुन्छ । यसबाट आवश्यकता भन्दा बढि वा कम पानी खर्च हुने अवस्था रहँदैन ।
विज्ञहरुका अनुसार यदि यो नियम पालना गर्नेहो भने एउटा परिवारको ट्वाइलेटमा वार्षिक २० हजार लिटर पानी बचत हुन्छ । यसले पानीको उचित प्रयोग वा व्यवस्थापन हुनेमात्र होइन पानीको महसूल पनि कम तिर्नुपर्नेछ ।
@Onlinekhabar

डाक्टर, फार्मासिस्ट र थेरापिष्ट गरी १८ जनाका लागि नेपाली सेनामा अवसर





एमबीबीएस डाक्टर, फार्मेसी र अकुपेशनल थेरापिष्टका लागि नेपाली सेनामा जागिर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज दरखास्त आवहान गर्दै सो जानकारी दिएको हो
आज प्रकाशित सूचना अनुसार समावेसी र खुल्ला तर्फबाट १५ जना एमबीबीएस डाक्टर, दुई जना फार्मेसी, र १ जना अकुपेशनल थेरापिष्ट पदका लागि दरखास्त आवहान गरको छ ।

कपाल नरम बनाउने ५ उपाय


मुसुरोको दाललाई पानीमा भिजाएर कपाल धुँदा यसले कपाललाई नरम तथा चम्किलो बनाउँछ ।
  • दुई गिलास पानीमा एक चम्चा चियाको पत्ती हालेर केही समय उमाल्ने । त्यसमा कागतीको रस हाल्ने । यस्तो मिश्रणले कपाल पखाल्दा कपालमा चमक आउँछ ।
  • एक गिलास बियर लिएर कन्डिसनरजस्तै गरी कपालमा लगाउने । यसले कपाललाई चमकदार बनाउँछ ।
  • कपाल सुक्खा छ, तथापि आफूलाई प्याक लगाउने फुर्सद छैन भने दुई चम्चा मह तथा दुई चम्चा रमलाई पानीमा हालेर कपाल पखाल्ने । यसले पनि कपाललाई नरम तथा चम्किलो बनाउँछ ।
  • कपालमा विभिन्न किसिमका केमिकल मिसिएका सामानको अधिक प्रयोग गर्नु राम्रो हुँदैन । केमिकल स्टेनिङ, कलरिङ आदि प्रक्रियाले कपाललाई कडा बनाउनुका साथै दीर्घकालीन असर गर्न सक्छ ।