चश्मा स्याहार गर्ने १० तरिका

चश्मा दृष्‍टि दोष भएका मानिसहरुका लागि संसार चियाउन दिने ऐना हो । चश्मा लगाउने त गरिन्छ तर यथोचित हेरचाहको अभावमा चाडै नै चश्मा बिग्रिने, कोरिने, फुट्ने हुन्छ । अनावश्यक रुपमा चश्मा कम्पनी, चश्मा पसले वा हस्पिटललाई नक्कली चश्मा भिडाएको भनेर आरोप पनि लगाइने गरेको पाईन्छ । हुनत चश्माहरु सबै सक्कली नै हुन्छन भन्न खोजेको हैन तर राम्रो हेरचाह गरेमा पक्कै एउटा चश्माको कार्यकाल बढाउन सकिन्छ । यहाँ यिनै केही बिधीहरुको बारेमा चर्चा गरिन्छ ।
१. चस्मा फुकाल्दा एउटा हातले एकातिरबाट मात्र फुकाल्नु हुँदैन । यसले चस्माको अगाडिको मुख्य भाग (फ्रेम) र खुट्टा (टेम्पल) जोड्ने मिलनबिन्दुमा एकतर्फी दबाब पर्ने हुनाले चाडै भांचिने वा स्प्रिङ्ग खुस्किने हुन्छ । साथै चस्मा लगाउँदा पनि सधैं दुबै हातले सन्तुलित बलको प्रयोग गरी लगाउने बानी बसाल्नु पर्छ ।
२. पावरवाला चस्मा निधारमाथि वा कपालमा नराखौंं । यसले फ्रेम खुकुलो बनाउँछ र लगाउँदा खस्ने डर हुन्छ ।
३. शिशाको लेन्स छ भने साना तिना ठक्करले पनि लेन्स चर्किन सक्ने भएकोले सकभर लगाइराख्ने र खोल्दा बिशेष जतन गर्ने गरौं ।
४. चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्स तिर हैन टेम्पलले टेबलमा छुने गरी राखौं । लेन्स तिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउदा धमिलो देखिन्छ ।
५. लामो समयसम्म चश्मा खोल्नु परेमा चश्माको खोल वा बट्टामा राख्ने गरौं ।
६. थ्री पिस चस्मा छ भने समय–समयमा फ्रेम खुकुलो भै रहन सक्छ । त्यसैले चस्मा किन्दा पेच कस्ने स्क्रियु ड्राइवर पनि संगै लिने गरौं ।
७. चश्मा पुछ्न प्रयोग गरिने माइक्रोफाइबर रुमाल प्रयोग गरौं । खस्रो कपडाले पुछ्दा राम्रो सँग सफा नहुने, वा चश्मा कोरिने हुन सक्छ ।
८. चश्मा सफा गर्न नरम साबुन वा हल्का तातो पानी प्रयोग गर्न सकिन्छ । लेन्स क्लिनर भन्ने केमिकल प्रयोग गरे झनै राम्रो ।
९. नोज प्याड (चश्मालाई नाकमा अड्याउने प्याड) सफा गर्दा नरम ब्रस प्रयोग गर्न सकिन्छ । चश्मा सफा गर्ने अल्ट्रा सोनिक तरङगको उपयोग गर्ने मेसिनले सफा गर्‍यो भने भौतिक बल प्रयोग नगरिकनै केही मिनेटमा सबै फोहोर चस्माबाट छुट्टिन्छ । यस्ले चश्माको सुरुवाती चमक फर्काउछ ।
१०. प्राय लेन्स वा फ्रेमहरु असी डिग्री सेल्सियस भन्दा बढीको तापक्रमले बिग्रिने हुन्छ (आकार बिग्रिने, लुज हुने, रङ खुइलिने वा कोटिङ खुइलिने), तसर्थ उच्च तापमान वा तापक्रम तल माथि भैरहने ठाउँबाट सकभर चश्मालाई जोगाउ ।
  • स्वास्थ्य खबर बाट साभार ।

५७ वर्षसम्म क्षतिपूर्ति पाएनन् गण्डक पीडित नेपाली किसानले

गण्डक बाँध
नवलपरासी–आठ वर्षअघि नेपाली किसानको माग पुरागर्ने सहमति जनाएको भारतले अहिलेसम्म पनि नवलपरासीका दक्षिण भेगका गण्डक पीडित नेपाली किसानहरुको माग पुरा गर्न चासो देखाएको छैन ।
२०६५ साल असार १२ गते भारत विहार राज्यको वाल्मीकी नगरमा भारतीय अधिकारी र नेपाली अधिकारी गण्डक पीडित नेपाली किसान सहितको वार्तामा २१ बुँदे माग पुरा गर्ने लिखित सहमति पुरा गर्ने प्रतिबद्धता जनाएको भारतले आफ्नो माग पुरा नगरेपछि नवलपरासी दक्षिण भेगका वासिन्दाहरु चिन्तित देखिएका छन् । उनीहरुले तत्काल आफ्नो माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । पटकपटक आफ्ना माग पुरा गराउन जिल्लादेखि केन्द्रसम्म पुगेका किसानहरुको मागलाई सम्बोधन गर्न नत भारतले नै चासो देखाएको छ नत नेपाल सरकारले नै पहल गर्न सकेको छ ।
गण्डक संरचनाको कारण आफ्नो खेतीयोग्य जमिन गुमाएका ८ हजार ४ सय ६४ नेपाली किसानले पाउनुपर्ने २ अर्ब ९३ करोड क्षतिपूर्ति बापतको रकम ५७ वर्ष पुग्दापनि पाएका छैंनन् । समान हित र समान सुबिधा भनेपनि नेपाली पक्षले बर्षैपिच्छे हैंरानी खेप्दै आएका छन् । कतैंबाट केहि सुनुवाई नभएपछि किसानहरुले २०६५ साल जेठ १ गते देखि भारतीय नहर थुनेर ३४ दिनसम्म आन्दोलन गरेका थिए । आन्दोलमा उत्रिएका किसानको मागलाई २०६५ साल असार १२ गते भारतको विहार राज्यको वाल्मीकी नगरमा त्रिपक्षीय वार्तामा २१ वुदे माग पुरा गर्ने लिखित सहमति जनाएको भारतले ८ वर्ष पुग्दासमेत माग पुरा गर्न चासो नदेखाएको गण्डक नदी नियन्त्रण सर्घस समितिका सदस्य प्रेमचन्द्र गुप्ताको आरोप छ ।
नेपालको परराष्ट मन्त्रालय मार्फत् नेपालस्थित भारतीय राजदुतावासमा क्षतिपुर्तिका लागि पहल गरेपनि अहिलेसम्म भारतिय पक्षले कुनैं चासो देखाएको छैन । बि.स. २०१६ साल मंसिर २१ गते नेपाल र भारतबीच भएको गण्डक सम्झौता समान हित र समान पानी भनिएपनि एकोहोरो रुपमामात्र भारतले फाइदा उठाउँदै आएको किसानहरु बताउँछन् । किसानहरुले सम्झौता अनुरुप गण्डक संरचनाको कारण क्षतिको क्षतिपुर्ति र संरचना निमार्णको समयमा अधिकरण गरिएको जग्गाको मुआब्जा पाउनुपर्ने गण्डक ब्यारेज वाध र नहरको संरचनाको तत्काल आवश्यक मर्मत गरिनुपर्ने , डुवान र कटानको समस्या स्थायीरुपले समाधान गरिनुपर्ने गण्डक संरचनाको कारण आर्थिक वातावरणीय पर्यावरणीय र स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न गएकाले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र खानेपानीको आवश्यक प्रबन्ध भारतले गर्ने सम्झौता भएपनि त्यस अनुसार काम हुन सकेको छैन । गण्डक क्षेत्रको निमार्ण कार्यको अनुगमनका लागि अधिकार प्राप्त निकाएको व्यवस्था गरी संयुक्त अनुगमनको व्यवस्था गरिनुपर्ने र गण्डक क्षेत्रमा सञ्चालन गरिने कार्यक्रमहरु र प्राप्त लाभमा स्थानीयवासीलाई समावेश गराउनुपर्ने माग किसानहरुले उठाउँदै आएका छन् । गण्डक क्षेत्रमा भारतीय पक्षले काम सुरु गरेपनि गुणस्तरहिन काम गरिरहेको र एक वर्षमै पुर्न मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको त्रिवेणीका स्थानीय पत्रकार प्रेमचन्द्र रौनियारले बताए । 
गण्डक सम्झौताकै कारण नवलपरासीको दक्षिणी भेगका १७ गाविस उच्च जोखीममा पर्दै आएका छन् । यस वर्ष पनि नारायणी नदीमा बढेको पानीको वहावले बी ग्यापको ११ नम्मर र १२ नम्मर र १३ नम्बर ठोकर भत्काएपछि नेपाली किसानमा झन् त्रास वढेको छ । प्रत्येक वर्ष ठोकर निर्माणका लागि बजेट आएपनि भारतीय ठेकदारको लापरवाहीको कारण गुणस्तरीय काम हुन सकेको छैन । हिउँदमा मर्मत गर्नुपर्ने काम वर्षायाममा सुरु गरेपछि काम गुणस्तर हुन नसकेको गण्डक पीडित संघर्ष समितिका प्रेम चन्द्र गुप्ताको आरोप छ । गण्डक क्षेत्रमा रहेका निमार्णाधीन काम र किसानका क्षतिपुर्तिका विषयमा अनुगमन गर्न नेपाल र भारतबी बनेका उच्चस्तरीय समितिले पनि ठोस काम गर्न सकेको छैन । आफ्नो माग पुरा गराउन शान्तिपुर्ण रुपमा आन्दोलन र डेलिगेशन गर्दै आएका किसानहरुको माग सम्बोधन गर्न न त भारतले चासो देखाएको छ न त नेपाल सरकारले नै उचित पहल गर्न सकेको छ । भारतीय पक्षसँग सधैं झुक्ने नेपाली अधिकारीहरुका कारण आफूहरु मर्कामा परेको गुप्ताको भनाई छ । नेपाल सरकारले पहल गर्न नसकेका कारण आफ्नो मागहरु सम्बोधन नहुने प्रमुख कारण भएको नेपाली किसानको आरोप छ । नवलपरासी क्षेत्र नम्बर ६ का सांसद देबकरण प्रसाद कलवार सन्तुले पटक पटक नेपाल सरकारको ध्यानाकर्षण गराएपनि केहि काम हुन नसकेको बताए । उनले भने, ‘ मैंले तिन पटक संसदमा कुरा उठाइसकेको छु , तर पनि नेपाल सरकारले ठोस पहल गर्न सकेको छैन ।’ उनले भारतीय पक्षको मुख ताकेर बस्दा बर्षेनी गण्डक क्षेत्रका किसानले क्षति बेहोर्नु परेको गुनासो गरे । बाबुराम भट्राईदेखि हालसम्मका सबै प्रधानमन्त्रीसंग आफूले यस बिषयमा कुरा राखेपनि कसैले सुनुवाई नगरेको सन्तुले बताए । गण्डक नदी नियन्त्रण संघर्ष समितिका सचिव दुधनाथ गुप्ताले आफूहरुले भारतीय दूतावास, परराष्ट मन्त्रालय, सिंचाई मन्त्रालय लगायतका स्थानमा ज्ञापनपत्र बुझाई सकेको बताए । उनले भदौसम्म पनि माग पुरा नभए पानी रोक आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘हाम्रो मागको सम्बन्धमा नेपाल सरकारले पनि कुटनितिक पहल गर्न नसक्दा नेपाली किसानको माग पुरा भएको छैन ।’ जमिन गुमाएको पीडा किसानहरुलाई त छँदै छ , अर्को तिर पाउनुपर्ने झण्डै ३ अर्व रुपैया क्षतिपुर्ति अझैसम्म नेपाली किसानले पाउन सकेका छैनन् । २१ बुँदे मागलाई भारतले इमान्दारीपूर्वक पुरा गर्नुपर्ने र तत्काल क्षतिपुर्ति उपलब्ध गराउन नेपाल सरकारले पहल गर्नुपर्ने गण्डक पीडित किसानको माग छ ।
२०६५ साल जेठ ११ गते देखी भारतीय नहर थुनेर ३४ दिने आन्दोलमा उत्रिएका किसानको मागलाई २०६५ साल असार १२ गते भारतको विहार राज्यको वाल्मीकी नगरमा त्रिपक्षीय वार्तामा २१ वुदे माग पुरा गर्ने लिखित सहमति जनाएको भारतले ८ वर्ष पुग्दासमेत माग पुरा गर्न चासो देखाएको छैन ।
@रातोपाटी बाट साभार ।

छापिएको कागजमा पोको पारेको खान्की मानव स्वास्थ्यको लागि खतरा !

उहिल्यैका मानिसहरुले भाँडा वर्तनको सहज पहुँच नहुँदा मेलापातमा अनि अर्थात् खाजा लैजाँदा घरकै निवाराको पात, केराको पात, कटुस र सालका पातका टपरी प्रयोग गर्दथे । ती पातमा दिइएको खाने कुराले मानिसलाई कुनै असर गर्दैनथ्यो ।
तर, हिजोआज मानिसको खानपान र आनीबानी परिवर्तन भएको छ । हिजो प्रयोग हुने ती गाउँले जनजीवनका अस्थायी भाँडा वर्तन अहिले प्रयोगमा कमै आउने गरेका छन् ।
बजारमा भने यिनै अस्थाई भाँडा वर्तनको रुपमा कागजका भाँडा वर्तन आएका छन् । ती पनि अत्यन्तै हानिकारक मासी प्रयोग भएका कागजहरु रहेका छन् ।
बजारका मासु पसले, दुनोट पसले, चट्पट पसले र पानीपुरी पसलेले हिजोआज यस्ताखालका भाँडावर्तन प्रयोग गर्ने गरेको पाईन्छ । उनीहरुले प्रयोग गर्ने अस्थायी भाँडा वर्तन अधिकांश छापिएका कागजको हुने गर्दछन् ।
प्रेसमा छापिएका दैनिक, साप्ताहिक, पाच्छिक, मासिक पत्रिकादेखि अन्य छापिएका पाठ्य पुस्तकहरु यस्ता अस्थायी भाँडा वर्तनको रुपमा व्यापारीहरुले प्रयोग गर्दै आएका छन् । यस्ता पेपरमा पसलेले दिएको खानेकुराले मानव शरिरमा कति असर गर्छ भन्ने कुरा कमैले मात्र हेक्का राखेका होलान् ।
साना बालबालिकादेखि टीनएजरका युवायुवतीले चना चट्पट्, पानीपुरी खाने भाँडा वर्तन अहिले यिनै छापिएका कागजका हुने गरेका छन् ।
पोखराको सिद्यार्थचोकमा रहेको एक पानीपुरी पसलमा पानीपुरी मागेकी मालेपाटनकी भगवती केसीलाई पसलेले कागजमा पानीपुरी दिए । पानीपुरी हातमा समाउन नपाउँदै चुहिएर हत्केला भरी भयो । उनले दिएको छापिएको कागज सबै भिजिसकेको थियो । उनले त्यो पेपर तर्काउँदै पानीपुरी खाएर सरासर पैसा तिरेर बाहिरिइन् ।
कागजमा खाँदा के हुन्छ ? तपाईलाई थाहा छ भन्दा केही थाहा नभएको बताउने भगवतीले सबै साथीले यसैगरी यो अंकलले दिएको खान्छन् भन्दै तर्किइन् । तर, त्यहाँ भगवतीले पानीपुरी मात्रै खाईनन् उनले अनाहकमा दीर्घरोग समेत किनमेल गरिन् ।
भगवतीलाई यो कुरा अहिले थाहा छैन्, पछि कुनै बेला पेटको क्यान्सरका रुपमा सो कागजमा दिएको पानीपुरीको असर निस्कनेमा दुईमत छैन । यसरी पानी कागजमा पानीपुरी खाने भगभती त एक प्रतिनिधि पात्र मात्र हुन् ।
हिजोआज भगवती जस्ता लाखौं युवायुवती र बालबालिकाले यस्तै छापिएका कागजमा दिएको बजारको जंङ्क फूड सेवन गर्दै आएका छन् ।
प्रेसमा छापिएको कागज एक दुईघण्टा नबित्दै बजारमा जान्छ । बजारमा पसलेले त्यही पेपरमा खानेकुरा पोको पारेर दिने गर्छन् । जुन छापिएको खतरनाक मसी कागजमा सुकिसकेको हुँदैन । त्यो मसी खानेकुरामा लाग्छ ,
यसरी छापिएको कागजमा पोको पारेर दिएको खाने कुराले मानिसलाई दीर्घरोगी समेत बनाउने गरेको छ । यसको प्रमुख कारण हो पेपर छपाईमा प्रयोग हुने मसी । पेपर छपाईमा प्रयोग हुने मसीमा फ्रि रेडिकल नामक विषादी हुने गर्दछ ।
यो विषादीले मानिसलाई क्यान्सर, छालाको एलर्जी जस्ता रोग लाग्ने डाइटिसियन श्रीवीद्या कायस्थ बताउँछिन् । सादा पेपरमा र्यापिङ गरिएको खानेकुराले मानव स्वास्थ्यमा कुनै असर नपारे पनि छापिएको पेपरमा बेरिएको खानेकुराले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने उनको भनाई छ ।
@Ratopati

घडीको विज्ञापनमा किन बजेको हुन्छ १०ः१० ??

तपार्इँले घडीका धेरै विज्ञापनहरु संचारमाध्यममा देख्नु भएको छ होला । यसरी विज्ञापन हेर्दा घडीको रुपरंग, आकार प्रकार तथा मूल्यमै तपाइँको ध्यान जान्छ ।
शो रुममा घडी किन्न जाँदा पनि डिस्प्लेमा राखिएका घडीमा कति बजेको छ भन्ने कुरामा ध्यान जाँदैन, त्यो घडीको स्वरुप र मूल्य ट्यागमा ध्यान जान्छ । तर यदि तपाइँले ख्याल गर्नुभएको छ भने यसरी विज्ञापनमा राखिने घडीमा चाहे जति नै बेला किन नहोस् त्यो घडीमा १० बजेर १० मिनेट गएको हुन्छ । आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ? यसको कारण छ ।
घडीमा दश बजेर दश मिनेट गएको समयमा घण्टा सुइ र मिनेट सुइको अवस्था यस्तो ठाउँमा हुन्छ जसले हाँसेको मानिसको मुखाकृति जस्तो देखाउँदछ । चित्रमा बनाइने हाँसेको मुखाकृति जस्तै घडीको सुइले बनाइदिन्छ । सायद हँसिलो स्वरुप देखाउनका लागि पनि विज्ञापनका घडीमा दश बजेर दश मिनेट बनाइएको हुन्छ ।
ऋर्को कारण हो, विजयको सूचक । दश बजेर दश मिनेट जाँदाको अवस्थामा घण्टा सुइ र मिनेट सुइ अंग्रेजी अक्षर भी को आकारमा हुन्छ । भी को अर्थ भिक्ट्री अर्थात् विजय भन्ने हुन्छ । सायद सबैभन्दा सर्वेश्रेष्ठ घडी यहीँ हो भन्ने कुरा देखाउनका लागि हुनसक्छ यसो गराइएको ।
सबैभन्दा महत्वपूर्ण कुरा त के भने घडीभित्र लेखिएको ब्राण्डको नाम तथा लोगो प्रष्ट रुपमा देखाउनका लागि समेत दुबै सुइलाई यसरी माथि राखिएको हुनसक्छ ।
क्तिपयका अनुसार जब पहिलोपटक वैज्ञानिकहरुले घडी बनाए तब ठ्याक्के दश बजेर दश मिनेट गएको थियो । त्यसैलै घडीको डिफल्ट समय नै दश बजेर दश मिनेट बनाइएको हुनसक्छ ।

तीन अर्ब लगानीमा यस्तो बन्ने भयो धरहरा (फोटो सहित)

लिफ्टबाट धरहरा चढ्न पाइने, म्युजियमदेखि थिएटरसम्मको सुविधा

विनाशकारी भूकम्पले भत्किएको धरहरा भव्य रुपमा पुनर्निर्माण हुने भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो ।
आधुनिक धरहराको स्केच तयार भइसकेको छ । केज कन्सुलेट प्रालि/एमआरबी एण्ड एशोसिएट्सले डिजाइन तयार पारेको हो । सोमबार राजधानीमा एक कार्यक्रमबीच धरहराको स्केच सार्वजनिक गरियो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।
सरकारले धरहरा ११ तलाको बनाउने भएको छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुने आर्किटेक इञ्जिनियर विष्णु पन्थीले बताए । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सिमित भएको थियो ।
धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुने पन्थीले जानकारी दिए । यो धरहरा बनाउन करीव ३ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । तीन वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पार्कसहितको धरहरा २९ रोपनी क्षेत्रफलमा फैलिने पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा मिलाएर आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको उनको भनाई छ । हुलाकलाई चारखालमा स्थानान्तरण गरिने भएको छ ।

धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन नहुने भएको छ । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको मन्त्री पोखरेलले बताए । ‘धरहराको पुनर्निर्माण नवः प्रविधिबाट हुन्छ’ उनले भने- ‘अब बन्ने धरहरा ८ रेक्टर स्केलको भूकम्प थेग्न सक्ने हुनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माणका लागि ‘मेरो धरहरा म आफै बनाउँछु’ अभियान घोषणा गरेका थिए । राष्ट्रिय गौरवको धरहरामा सबै नेपालीको अपनत्व जगाउन यस्तो घोषणा गरिएको थियो । यो अभियानमा नेपाली नागरिकले स्वतस्फुर्त आर्थिक सहयोग गरिरहेका छन् ।













यस्तो हुनेछ धरहरा


धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्रि भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । धरहरामा लिफ्टको व्यवस्था हुनेछ । आकस्मिक अवस्थाका लागि भर्‍याङको समेत हुने आर्किटेक इञ्जिनियर पन्थीले जानकारी दिए ।

धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टबाटै लिफ्ट चढेर धरहराको टुप्पोमा पुग्ने व्यवस्था मिलाइने बताइएको छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।
धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुने पन्थीले जानकारी दिए । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने उनको भनाइ छ ।





धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । यसलाई हृयांगिङ गार्डेन नामाकरण गरिने छ । धरहराको भित्र हुने अठारौं तलामा मिनी थिएटर बनाइने भएको छ । थिएटर १७ जना क्षमताको हुने छ । जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो देखाइने छ ।
२ सय ४५ फिट अग्लो धरहराको टपमा सिसाले घेरेको ‘भ्यू डेक’ हुनेछ । जहाँबाट काठमाडौं अवलोकन गर्न सकिने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्ट लगायतका सुविधाहरु पनि हुनेछन् । सुन्धरालाई थप आकषिर्त बनाइने भएको छ । सुनबाट बनेको सुन्धरामा मानिसले मज्जा लिन सक्ने बताइएको छ ।
धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । जहाँ १ सय ३४ गाडी र ७२२ बाइक पार्किङ गर्न सकिने पन्थीले जानकारी दिए । पछिल्लो समय राजधानीमा पार्किङ सबैभन्दा ठूलो समस्या बनेको छ । धरहरा घुम्न जानेलाई पार्किङको समस्या नहोस् भनि तीन तले पार्किङ सुविधा उपलब्ध गराउन लागिएको हो ।





‘धरहरालाई सकेसम्म नेपाली पन दिन खोजिएको छ, मेटि्रयल्समात्र आधुनिक प्रयोग गर्न लागिएको हो’ आर्किटेक इञ्जिनियर पन्थीले भने- ‘धरहरा राष्ट्रको ल्यान्डमार्क हो, यो साँच्चिकै ल्यान्डमार्क बन्नुपर्छ ।’
पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ । मन्त्री पोखरेलले काठमाडौंमा पशुपतिपछिको आकर्षक गन्तव्य धरहरा बन्ने विश्वास व्यक्त गरे । धरहराले पर्यटकलाई थप १ दिन काठमाडौंमा टिकाउन सहयोग पुग्ने उनको भनाई छ । यसले राजश्वमा समेत योगदान पुर्‍याउने उनले बताए ।
नयाँ बन्ने सरकारले पनि धरहरा निर्माणलाई प्राथमिकतमा राख्नुपर्ने मन्त्री पोखरेलको भनाई छ । ‘नयाँ सरकारले धरहराको काम कुनै पनि बाहनामा रोक्नु हुँदैन, हामी प्रतिपक्षमा बसेर धरहरा निर्माणका लागि दबाव सिर्जना गर्छौं ।’





स्रोत- अनलाईनखबर

कुलेखानी जलविद्युत आयोजनाको सव-स्टेसनमा भीषण आगलागी

कुलेखानी जलविद्युत आयोजनाको कलंकी स्युचाटारस्थित सब-स्टेसनमा भीषण आगलागी भएको छ।
 
काठमाडौं उपत्यकाभरि प्रसारण हुने सब-स्टेसनको १३२ केभी लाइनमा आगलागी भएको हो। जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईका अनुसार सर्किट टुटेर आगो लागेको हुनसक्ने आशंका गरिएको छ। भट्टराईका अनुसार अहिले दुई वटा वारुण यन्त्रद्वारा आगो निभाउने प्रयत्न भइरहेको छ। तर, आगो नियन्त्रणमा आउन सकेको छैन। ललितपुरस्थित दमकलबाट पनि एउटा वारुण यन्त्र त्यसतर्फ प्रस्थान गरेको छ। 
 
‘एकदमै ठूलो आगो लागेको छ, हामी निभाउने प्रयास गरिरहेका छौं,’ उनले भने।

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण


न्यायाधीश हरु सपथ लिंदै ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आजै उनीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।
नवनियुक्ति न्यायाधीशहरुमा दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा. सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
नवनियुक्त न्यायाधीशहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो ।