हुर्कंदै गरेका छोराछोरीसँग कस्तो व्यवहार गर्ने?

छोराछोरी कसरी हुर्काउने भन्ने सम्बन्धमा लेखिएको बेस्टसेलर पुस्तक ‘हाउ टु टक सो किड्स विल लिसन एन्ड लिसन सो किड्स विल टक’ अभिभावकका निम्ति अत्यन्त उपयोगी छl हुर्कंदो छोराछोरीसँग व्यवहार गर्ने प्रभावकारी तरिका र सुझाव पुस्तकमा समेटिएका छन्l तर, पुस्तक पढ्दै जाँदा मलाई के लाग्यो भने यस्ता तरिका र सुझाव त मलाई पहिलेदेखि नै थाहा रहेछl मलाई कसरी थाहा भयो त्यस्ता कुराहरु?
आतंककारी वा अपराधीको कब्जामा रहेका बन्धकलाई मुक्त गर्न वार्तामा खटिने अमेरिकाको एफबिआई एजेन्टबारे मैले अनुसन्धान गरेको थिएँ l उनीहरुसँगको अन्तर्वार्तामार्फत म त्यस्ता तरिकासँग परिचित भएको रहेछुl यसको मतलब तपाईंको ९ वर्षे छोरा वा किशोर छोरी कुनै गम्भीर अपराधीजस्तै हुन् भन्ने होइनl मेरो आसय यति मात्र हो- आतंककारी, बैंक लुटेरा वा अन्य अपराधीसँग जुन ढंगले वार्ता गरिन्छ त्यस्तै व्यवहार छोराछोरीसँग गर्दा प्रभावकारी हुन्छl
वास्तवमा अभिभावकले आफ्ना छोराछोरीसँग तर्क-वितर्क गर्दा सुरुमै यस्तो गल्ती गर्छन्, जुन बन्धक मुक्त गर्न खटिएका वार्ताकारले गर्दैनन्l जब छोराछोरीसँग गरिने कुराकानी सुरुमै बिग्रन्छ, त्यसपछिको अवस्था तीव्र ढंगले बिग्रँदै जान्छl      
त्यो गल्ती हो, छोराछोरीको भावनालाई नकार्नुl 
तपाईं बैंक डकैतीको एउटा घटना कल्पना गर्नुस्l लुटिने क्रममा रहेको बैंकलाई हतियारले सुसज्जित एफबिआईले घेरा हालेको छl डाँकुहरुले केही मानिस बन्धक बनाएका छन्l सुरक्षाकर्मी र डाँकुबीच मुठभेडको अवस्था छl डाँकुहरु भन्छन्– 'हामी भोकाएका छौं, हामीलाई बैंकभित्रै खानेकुरा पठाइदेउl'
हामीलाई लाग्न सक्छ बन्धकमुक्त गर्न खटिएका एफबिआईका वार्ताकारले भन्लान्- ‘नाटक बन्द गर, तिमीहरुले भर्खरै खाएका छौ, बन्द गर गनगन।’
वार्ताकारले यस्तो गल्ती कदापि गर्दैनन्l त्यसले अवस्था बिगार्छl अभिभावकले भने आफ्ना छोराछोरीसँग त्यस्तै गल्ती बारम्बार गर्छन्l यसको परिणामले घरमा तनाव, कोलाहल र चिच्याहट सुरु हुन्छl समस्या सुल्झनुको साटो झन् बिग्रन्छ। यो छोराछोरीको भावना नकार्नुको परिणाम हो।
पक्कै पनि अभिभावकका रुपमा तपाईंले छोराछोरीले चाहेको वा मागेको सबै पूरा गर्न सक्नुहुन्नl वार्ताकारले पनि अपराधीले मागेका सबै पूरा गर्दैनन्l जस्तो- बैंक लुटेराले मागेको खानेकुरा सुरक्षाकर्मीले दिन पनि सक्छ, नदिन पनिl तर, एफबिआईको वार्ताकारले कहिल्यै भन्दैन– ‘तिमीहरु भोका छैनौं, बकवास बन्द गर!’
छोराछोरी माथि तपाईंले कुनै किसिमले नियन्त्रण गर्नेपर्छl तर, यसको मतलब छोराछोरीका भावना ठाडै नकार्ने गल्ती गर्नु हुन्न।
कुनै पनि मानिसलाई आफ्नो भावना नकारेको मन पर्दैनl यो विश्वव्यापी सत्य होl कुनै रिसाएको व्यक्तिलाई तपाईंले ‘शान्त बन’ भनेर ठाडै भन्नुभयो भने उसको प्रतिक्रिया कस्तो होला? ‘म शान्त छु!’ भन्दै उ चिच्याँउछ l         
एकपटक सोच्नुस, तपाईं हुर्कंदै गरेका किशोर/किशोरीसँग कुरा गर्दै हुनुहुन्छ l किशोर वा किशोरीहरु वयस्क मानिसभन्दा बढी आफ्ना भावना नियन्त्रण गर्न सक्षम हुन्छन् भन्ने सोचाई नै गलत होl
उसो भए छोराछोरीसँग कुराकानी गर्ने सही तरिका के हो त ?
१) पूर्ण ध्यान दिएर सुन्ने
तपाईंका छोरा/छोरी रोइरहेका होलान् र तपाईं आफैं हतास अवस्थामा हुनु होलाl यस्तो समयमा तपाईंले उनीहरुको गल्ती औंल्याउन वा उनीहरुलाई हप्काउन सक्नुहुन्छl त्यसले विवाद अन्त्य गर्न सहयोग गर्दैनl बरु तपाईंको जवाफले अवस्थालाई झनै विस्फोटक बनाउन सक्छl
तपाईंका श्रीमान वा श्रीमतीले तपाईलाई भनेको सुन्नुभएकै होला– ‘मेरो कुरा सुनिएन’l त्यस्तो अवस्थामा तपाईंले उत्तर दिन सक्नुहुन्छ– ‘त्यस्तो होइन, तिम्रो कुरा नसुनिएको होइनl’ त्यसपछि कुरा गर्दा परिणाम राम्रो होलाl छोराछोरीसँग गर्ने पनि त्यस्तै होl जब हाम्रा भावनालाई कसैले इन्कार गर्छ, हामी त्यसविरुद्ध लड्छौंl
त्यसै कारण सुन्नुहोस्l तपाईंका कुरा कसैले सुन्यो भने तपाईंको पीडा कम हुन्छl छोराछोरीसँग पनि त्यही नियम लागू हुने होl
कसैले मेरो कुरा सुनोस्, मेरो हृदयको पीडा स्वीकार गरोस्, मलाई आफ्नो पीडाबारे बोल्ने अवसर होस्l त्यसपछि मेरो रिस कम हुन्छ, म मेरा बारेमा केही प्रस्ट हुन्छु र मलाई मेरा भावना र समस्यासँग जुध्न सजिलो हुन्छl बच्चाको हकमा पनि त्यही नै लागू हुन्छl उनीहरुको कुरा कसैले सुनिदियो र उनीहरुको भावना महशुस गरिदियो भने उनीहरुलाई आफ्ना समस्यासँग जुध्न सजिलो हुन्छl
बन्धकमुक्त गर्न खटिने एफबिआईका वार्ताकारहरु यसमा सहमत छन्l उनीहरु ‘व्यवहार परिवर्तन गर्ने सिंढी’ भन्ने सूत्र प्रयोग गर्छन्l अपराधीका कुरा सुन्नु उक्त भर्यांङको पहिलो खुट्किला होl 
एफबिआईका वार्ताकार क्रिस भोस सुन्ने कलाबारे भन्छन्:
तपाईंले आफ्नो तर्फबाट तर्क गरिरहनुभएको छ भने अर्को पक्ष शान्त देखिन सक्छl तर उ शान्त रहनुको कारण उसले तपाईंलाई सुन्दै गरेकाले होइन, आफूभित्र आफ्नै तर्कका बारेमा सोचेका कारणले होl उसले आफूभित्रको आवाज नै सुनिरहेको हुन्छl त्यस्तै जब उसले आफ्नो तर्क राख्छ, तपाईं आफ्नै तर्कका बारेमा सोच्नुहुन्छ, उसको कुरा सुन्नुहुन्नl
त्यसै कारण तनावपूर्ण वार्ता भनेको मानसिक रोगी ‘सिजोफ्रेनिक’सँग व्यवहार गर्नु जस्तै होl तपाईंले धैर्यपूर्वक अर्को पक्षलाई पूर्ण रुपले सुन्नुभयो भने मात्र तपाईंले उ भित्रको आवाज शान्त पार्न सक्नुहुन्छl त्यसले समस्या समाधान गर्न सहयोग गर्छl तर मानिस त्यसो गर्दैनन्l अर्को पक्षलाई सुन्न मानिस वार्ता तथा कुराकानी गर्दैनन्l उनीहरु अरुको भावनामा ध्यान दिने र सुन्ने गर्दैंनन्l आफ्ना कुरा राख्न वार्ता गर्छन्l
सफल वार्ताका निम्ति सक्रिय ढंगले अर्को पक्षलाई सुन्नुपर्छl सक्रिय ढंगले सुन्ने क्षमताले हामीलाई वार्ताको सिँढीमा दोश्रो खुट्किला चढ्न सहयोग गर्छl
२. अरुको भावना स्वीकार गर्ने
तपाईंले भन्नुहोला- ‘तिमीले कस्तो महशुस गर्दैछौ भन्ने कुरा म बुझ्छुl’
त्यसो भन्नु गलत होl कुनै व्यक्ति भावुक भएको बेला कसैले त्यसो भनेमा उसले राम्रो मान्दैनl उसलाई लाग्न सक्छ तपाईंले उसलाई चुप लगाउन खोज्दै हुनुहुन्छl उसले उत्तर दिन सक्छ– ‘अँह, तिमी मलाई बुझ्दैनौl’
त्यसै कारण तपाईंले उसलाई ‘बुझ्छु’ भन्ने कुरा देखाउनुस्l तर बुझ्छु भन्नु र साँच्चै बुझ्नुमा फरक के त?
फरक भनेको कसैले मलाई ‘तिमीलाई म हसाउन सक्छु’ भन्नु र मलाई ३० मिनेटसम्म लगातार हसाएर देखाउनु जस्तै होl
के हो त त्यस्तो कला? एफबिआइ वार्ताकारहरु त्यसलाइ ‘सारांश’ भन्छन्l यो सजिलो छ– उनीहरुले भनेको कुरालाई तपाईंले सारांश खिच्नुस् र उक्त कुरा उनीहरुलाई नै सुनाइदिनुस्l
एफबिआईका क्रिस भोस भन्छन्- उनीहरुले के भन्दैछन् भनेर सुन्नुहोस् र त्यही कुरा सारांशका रुपमा उनीहरुलाई नै भन्दिनुस्l उक्त प्रक्रिया दुवै पक्षका निम्ति सहयोगी हुन्छl त्यसबाट उनीहरुका निम्ति के महत्वपूर्ण छ भनेर तपाईंले बुझ्नुहुन्छl उनीहरुले भनेको कुरा दोहोर्याइदिँदा उनीहरुले आफू के भन्दैछु भनेर पनि बुझ्न सक्छन्l
तर, केही अभिभावकको तर्क हुन सक्छ, ‘मेरो किशोर छोरा/छोरीले त पागल जस्तो कुरा गर्दैछ!’
तपाईं उनीहरुसँग सहमत हुनुपर्छ भन्ने छैनl तर उनीहरुको भावना स्वीकार गर्दा उनीहरुलाई लाग्छ– ‘यो मानिसले मेरो भावना बुझ्छl’ उनीहरुले तपाईंलाई आफ्नै पक्षमा रहेको मानिस सरह व्यवहार गर्छन्l त्यो समस्या सामाधान गर्ने खुट्किला होl धेरै अभिभावकले त्यसो गर्दैनन्l उनीहरु तुरन्तै सल्लाह दिने र लेक्चर दिने काम गर्छन्l मनोविश्लेषकका अनुसार जब वादविवाद तातेको हुन्छ, त्यस्तो अवस्थामा सल्लाह उपयोगी हुँदैनl उनीहरुलाई बुझ्नु उपयोगी हुन्छl
आफ्ना छोराछोरीले जे भने पनि ठिकै छ भन्ने होइनl आखिर तपाईं अभिभावक होl उसले तपाईंलाई घृणा गर्छु भन्यो भने तपाईंले भन्न सक्नुहुन्छ– ‘मैले जे सुने त्यो मलाई मन परेनl तिमीलाई कुनै कुरा मन परेन भने त्यो कुरा मलाई राम्ररी भनl हुनसक्छ म तिमीलाई सहयोग गर्नसक्छुl’  
यस प्रकार तपाईंले उनीहरुसँग कुरा गर्न र सुन्न सक्नुहुन्छl तर उनीहरुको रिस तपाईंले शान्त गराउनुपर्छl त्यसको उपाय के त?
३) उनीहरुको भावनालाई नाम दिनुस
रिस शान्त गराउने यो शक्तिशाली माध्यम होl छोराछोरी रिसाएका छन् भने तपाईंले भन्न सक्नुहुन्छ, ‘तिमी त साँच्चै रिसाएजस्तो लाग्योl' 
यसले सकारत्मक फरक पार्छl तर अभिभावकहरु त्यस्तो भन्न हिच्किचाउने गर्छन्l
‘प्यारेन्टिङ एक्सपर्ट’हरु भन्छन्– अभिभावकहरु प्रायः त्यस्तो प्रतिक्रिया दिँदैनन्l त्यसले झनै कुरा बिगार्छ भन्ने उनीहरुलाई लाग्छl
तर, बाबुआमाबाट छोराछोरीले त्यस्तो प्रतिक्रिया सुन्दा सहज महशुस गर्छन्l कसैले उनीहरुको भित्री अनुभवबारे बोल्यो वा बुझ्यो भन्ने उनीहरुलाई लाग्छl
एफबिआईका वार्ताकारले त्यसको महत्व बुझेका छन्l उनीहरुका अनुसार वार्ताका क्रममा भावना व्याख्या गर्दा भन्न सकिन्छ– ‘तिम्रो भावनामा गम्भीर चोट पुगेको छl यो न्याय भएनl’ त्यस्तो कुराले उनीहरुको भावना कसैले राम्रो/नराम्रो भनेर मूल्यांकन नगरी स्वीकार मात्र गर्यो भन्ने लाग्छ, जुन सकारात्मक कुरा होl त्यसले उनीहरुलाई सहज महशुस गराउँछl त्यसले उनीहरुलाई शान्त बनाउलाl त्यसपछि गर्ने के त?
४. प्रश्न सोध्नुस्
मनोविश्लेषक अल बर्नस्टेनले युवालाई ‘मैले तिम्रा लागि के गरोस् भन्ने चाहन्छौ’ भन्ने कुरा सोध्न सिफारिस गर्छन्l
यस्तो प्रश्नको उत्तर दिन बेखुस व्यक्तिले सोच्नुपर्ने हुन्छl तपाईंले चाहेको कुरा हो तनावपूर्ण अवस्था अन्त्यका लागि कुराकानी होस्l
एफबिआईका वार्ताकार क्रिस भोसको पनि त्यस्तै तरिका छl
अभिभावकका रुपमा उनीहरुले मागेको सबै कुरा तपाईंले दिन सक्नुहुन्नl तर, कम्तीमा तपाईंले उनीहरुको भावना तपाईंले मात्र बुझ्छु भनेर सन्देश दिन सक्नुपर्छl तपाईं उनीहरुको नै पक्षमै हुनुहुन्छ भनेर बुझाउनुपर्छl तर अभिभावकले गर्ने गल्ती भनेको बढी तार्किक हुन खोज्नु होl त्यसले लामो वादविवादतर्फ लैजान्छl तपाईंले जति शक्तिशाली तर्क गरेर आफ्नो कुरा राख्नुहुन्छ त्यति नै कठोर ढंगले उनीहरु त्यसको विरोध गर्छन्l   
उनीहरुलाई सुनेर, भावना स्वीकार गरेर र त्यसलाई व्याख्या गरेर मात्र उनीहरु शान्त हुन्छन्l त्यसपछि तपाईं समस्या सामाधान गर्न सक्नुहुन्छl
यस्ता सबै कदम उठाउन तपाईंसँग सधैं संयम र धैर्य नहुन सक्छl यो काम सजिलो पनि छैनl तर तपाईंले उनीहरुलाई सुनेर र उनीहरुको भावना बुझेर नै सम्बन्ध सहज बनाउन सक्नुहुन्छl
यस्ता नियम सबै मानिसका हकमा लागू हुन्छl प्रायः सबै मानवीय आवश्यकता र भावना उस्तै प्रकारका हुन्छन्l
मनोविश्लेषक बर्नस्टेन भन्छन्– रिसाएका सबै मानिससँग बच्चाहरु झैं व्यवहार गर्नुस्l
उनी भन्छन्- ‘मानिसले सधैं मसँग सोध्ने गर्छन्, के मैले ठूला मानिससँग पनि ३ वर्षे बालकसँग जस्तै व्यवहार गर्ने? म उत्तर दिन्छु- हो, तपाईंले त्यस्तै व्यवहार गर्ने होl’
(बार्करको टाइम म्यजिनमा प्रकाशित लेखको अनूदित अंश) / सेतोपाटी 

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post