यसरी बचौं गुप्तांगका रोगबाट

-डा. उत्सव शर्मा
नेपालका गाउँघरदेखि शहरी क्षेत्रसम्म सबैतिर यौन सम्पर्कको माध्यमबाट सर्ने रोग व्याप्त छ । मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ । यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं ।
नेपालमा सिफिलिस, गोनेरिया, क्याइमेरिया र कहिलेकाँही जेनाइटल हर्पिसको समस्या देखिन सक्छ । त्यसैगरी जेनाइटल वार्ट भनिने रोग, जसलाई हामी चलनचल्तीको भाषामा मुसा भन्छौं, त्यो पनि यौन सम्पर्कको माध्यमबाट सर्ने रोग हो । फङ्गल इन्फेक्सन पनि यौन माध्यमबाट सर्छ । तर यो यौन रोगमा पर्दैन ।
मानिसको गुप्ताङ्गमा देखिने मुसा यौनरोग हो । गुप्ताङ्गमा मुसा आएको व्यक्तिले यौनसम्पर्क गर्छ भने अर्को व्यक्तिमा रोग सर्छ । कतिपयको हात र खुट्टाहरुमा देखिने मुसा यौनरोग होइनन् । यौनरोगका रुपमा परिचित मुसा भने स–सानो गिर्खाजस्तो देखिन्छ । अक्सर पुरुषहरुको यौनांगमा मुसा हुन्छ भने महिलाको योनी वा वरपर यस्ता मुसा देखिन्छन् ।
नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । कुनै समुदाय विशेषलाई आक्षेप लगाउन खोजेको होइन, तर नेपालमा पेशाकर्मी सवारीचालकमा यो रोग बढी देखिएको छ । त्यसमा पनि ट्रक चालकहरु प्रायः सिफिलिसबाट पीडित भइरहेका हुन्छन् । यात्राका क्रममा घुमिरहने र अनुकुल पर्नासाथ असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले यिनीहरुका कारण सिफिलिस फैलिइरहेको हुन्छ । मकहाँ उपचारका क्रममा आउनेहरु पनि प्रायः यस्तै स्वभावका व्यक्तिहरु पर्छन् ।

सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउ जस्तो देखापर्छ । केही दिनमा कतिपयको आफै निको भएर जान्छ भने कतिपयले एन्टीबायोटिक औषधि खाए पुग्छ । पुरुषका कारणले महिलाहरुमा पनि भिरिङ्गी सर्छ । उनीहरुको यौनांग वरपर घाउ देखिन्छ । प्रारम्भिक चरणमा आए एक दिनको एन्टीबायोटिक वा इञ्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ ।
सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ । तर तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन । यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ । घाउ नै छ भने जोखिम ज्यादा हुन्छ । शहरी क्षेत्रमा उच्च मध्यम र उच्च वर्गमा भने भिरिङ्गीको समस्या त्यति देखिँदैन ।
यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । कतिपयको यौनांग अति गन्हाउने हुन्छ । सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ । महिलाहरुमा यस रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया सरेर आँखामा समस्या ल्याउने हुनसक्छ ।
अर्को जेनाइटल हर्पिज पनि यौनरोग हो । यसका धेरै प्रकार र लक्षण छन् । केहीको ओठमा पनि निस्कन सक्छ, जसलाई हामी ‘जुठो खटिरा’ भन्छौं । हर्पिज रोष्टर अर्को प्रकारको हो, शरीरको एक भागमा फोकाहरु निस्किएर पीडा हुन्छ, जसलाई हामी जनै खटिरा भनेर बुझ्छौं ।
कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ । जेनाइटल वार्ट भने मुसाहरु हुन् । जुन सामान्य मानिसहरुमा लामो समय रहने मुसाभन्दा केही फरक खालका हुन् ।
कसैलाई घाउ, चोट छ भने शारीरिक सम्पर्कको बेला निस्कने यौनरसबाट यस्ता रोगहरु सर्छन् । यौनसम्पर्कका क्रममा योनी र लिंगका भागहरु घर्षण हुँदा यौनरसमा रहने जिवाणुहरु एकजनाबाट अर्कोमा सहजै पुग्छन् । पानीफोका फुट्दा वा रस निस्कदा पनि जिवाणुहरु स्थानान्तरण हुन्छन् । यस्ता यौनरोगहरु पुरुषबाट महिलामा सहजै सर्ने भए । यौनसम्पर्कका क्रममा महिलाहरुको यौनांगबाट पनि रसहरु निस्कने भएकाले जिवाणुहरु संसर्गका क्रममा पुरुषको यौनांगमा पुग्छन् ।
यस्ता रोगबाट जोगिने उपयुक्त उपाय नै सुरक्षित यौन अभ्यास हो । सम्भव भएसम्म एकजना यौन साथीबाहेक अरुसँग संसर्ग नगर्नु उपयुक्त हो । रोग लागिसकेको छ भने दुई जनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन । पति\पत्नीमध्ये कसैमा यो रोग लागिसकेको छ भने निको नहुञ्जेल शारीरिक सम्पर्क नगर्नु उपयुक्त हुन्छ ।
प्रायः हामीकहाँ उपचारमा आउनेमध्ये महिलाहरुमा रोग लाग्ने कारण पतिहरु हुन् । घुमफिरका क्रममा बाहिरबाट रोगको संक्रमण बोकेर आउने अनि उनीहरुबाट रोग सरेर पत्नीहरु पीडित भएका घटना धेरै भेटिन्छन् । यदि कुनै एकजनामा देखिएको छ भने दुवैले नियमित स्वास्थ्य परीक्षण र सही उपचार गर्नुपर्छ ।
यदि कुनै पतिपत्नी आफूहरु बाहेक अन्यत्र शारीरिक सम्पर्क गर्दैनन् भने उनीहरुमा यस्ता रोग लाग्ने सम्भावना निकै कम हुन्छ । बरु एचआईभी रगत, सिरिञ्ज लगायतका अन्य व्यवहारिक क्रियाकलापका कारण सर्न सक्ला । तर एड्स बाहेकका अन्य यौन रोगहरु अरु माध्यमबाट सर्दैनन् ।
यस्ता यौन रोग लागेका व्यक्तिले निको नहुञ्जेल कण्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भनी सोध्ने गर्नुहुन्छ । पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा भए पनि रहन्छ । यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा रहन्छ । यस्ता यौन रोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि सर्ने सम्भावना रहन्छ । कसैको मुखमा जुठो खटिरा छ भने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिस अर्थात मुसा देखापर्न सक्छ ।
समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ । कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफ्नो अनुकुलको डाक्टरलाई देखाउछन् । पुरुषहरु पुरुष र महिलाहरु महिला डाक्टरकोमा जान्छन् । त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छ भनी सहजै भन्न सकिदैन । तर शहरी क्षेत्रमा पनि यस्ता यौनरोगको समस्याबाट निम्नदेखि उच्च वर्ग सबै समुदायका मानिस प्रभावित छन् ।
शहरी क्षेत्रमा भने अनुमान नै गर्न नसक्ने मानिसहरुलाई पनि यस्तो समस्या पर्न सक्छ । समाजमा आएको खुला सोच र मानसिकताले मानिसहरुले विवाहपूर्व नै शारीरिक सम्पर्क गर्छन् । कतिपय मानिसहरु व्यवसायिक यौनकर्मीसँग असुरक्षित सम्पर्क राख्छन् । जसले गर्दा यस्ता रोगहरुको जोखिम झनै बढाएको छ । किशोर÷किशोरीहरु पनि बारम्बार आएका हुन्छन् र केटा मानिसहरु ज्यादा आउछन् । उनीहरुको घुमन्ते व्यवहारका कारण केटी साथीहरु पनि पीडित भएका छन् । यसमा उमेरको बन्देज हँुदैन, जसलाई पनि लाग्न सक्छ ।
अन्त्यमा भन्नुपर्दा, स्थायी यौन साथीसँग मात्रै शारीरिक सम्पर्क गर्ने र सुरक्षाको उपाय अबलम्बन गरेमा यस्तो रोगको जोखिम निकै कम हुन्छ ।
@SwasthyaKhabar

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post