कञ्चनजंघा युनेस्कोमा दर्ता गर्ने भारतीय प्रयास

नेपालको कञ्चनजंघा संरक्षण क्षेत्रलाई ओझेलमा पार्न भारतले ‘कञ्चनजंघा नेसनल पार्क’ विश्व सम्पदा सूचीमा दर्ता गर्ने प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति (युनेस्को) मा आफ्नो नाममा कञ्चनजंघा पार्क दर्ताका लागि भारतले हालै प्रस्ताव गरेको हो । नेपाल सरकारले भारतको प्रस्तावप्रति हालसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । तर, उच्च सरकारी अधिकारीहरूले यसको औपचारिक पुष्टि भने गरेका छन् ।
भारतले गत साता टर्कीमा सम्पन्न युनेस्कोको सम्मेलनमा यस्तो प्रस्ताव लगेको हो । भारतको प्रस्तावमा कञ्चनजंघा नेसनल पार्क युनेस्कोमा दर्ता भएमा नेपाली क्षेत्र ओझेलमा पर्नेछ । भारतीय सीमानजिक पर्ने कञ्चनजंघा हिमालको नाम भारतले एकलौटी रूपमा युनेस्कोमा प्रस्ताव गरेपछि नेपालको संरक्षण क्षेत्र भने युनेस्कोबाट बाहिरिने संभावना बढेको छ । टर्कीमा नेपालको प्रतिनिधित्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले गरेका थिए । उनले युनेस्कोमा नेपाली हिमालको नामलाई भारतले एकलौटी प्रस्ताव लैजानु गलत भएको उल्लेख गर्दै यस विषयमा गम्भीर भएर सोच्न सरकार र संसद्लाई आग्रह गरेका छन् ।  “यो विषय अब नेपाली पक्षको अडानमा भर पर्छ, यसमा अब हुने सम्मेलनमा नेपालले दाबी विरोध गर्न सकेन भने नेपालले स्वामित्व गुमाउनेछ,” राईले भने । यसपटकको सम्मेलनमा आपूm कुरा उठाए पनि युनेस्कोको प्रावधानअनुसार सो संरक्षण क्षेत्रकै सदस्यले दाबी विरोध गर्नुपर्ने भएकाले अर्को पटक नेपाल कडारूपमा प्रस्तुत हुनुपर्ने राईले बताए ।
भारतले सन् १९७७ मा कञ्चनजंघा नेसनलपार्क स्थापान गरेको थियो । तर, हिमाल पूर्णरूपमा नेपालमा पर्ने भएकाले भारतले उक्त प्रस्ताव युनेस्कोमा राख्न पाउँदैन । नेपालले कञ्चनजंघा संरक्षण क्षेत्र सन् १९९७ मा स्थापना गरेको थियो । मुख्यतः रेडपान्डका लागि प्रख्यात यो संरक्षण क्षेत्र विश्वमै चर्चित छ । सन् २०१५ मा कञ्चनजंघा संरक्षण क्षेत्रमा ७३१ विदेशी पर्यटक पुगेका थिए । २ हजार ३५ वर्गमिटर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्र ताप्लेजुङ जिल्लामा पर्छ । कञ्चनजंघा हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । नेपालमा कञ्चनजंघा संरक्षण क्षेत्रसहित ६ वटा क्षेत्र छन् । यस्तै, १० वटा राष्ट्रिय निकुञ्ज, १ शिकार आरक्षण, ८ वटा रामसार क्षेत्रहरू छन् ।
गत वर्ष नेपालको पूर्वी, भारतको उत्तरी र भुटानको पश्चिम क्षेत्रमा रहेको कञ्चनजंघा हिमश्रृंखला संरक्षणका लागि भन्दै त्रिदेशीय सहकार्य सुरु भएको थियो । तीन देशका सरोकारवालाहरूको बैठकले तयारी गरेपछि यस्तो सहमति भएको थियो । कञ्चनजंघा हिमश्रृंखला संरक्षण गरी जैविक विविधताको उदाहरणीय क्षेत्रका रूपमा विकास गर्न त्रिदेशीय सहमतिको तयारी भएको थियो । सहमतिपछि तीन देशले एकीकृत कार्यक्रम सञ्चालन गरी काञ्चनजंघाको संरक्षणको अभियान सञ्चालन हुने सहमति छ । भारतले यही सहमतिको फाइदा उठाउँदै युनेस्कोमा प्रस्ताव लगेको अनुमान गरिएको छ । हिमश्रृंखला संरक्षण तथा व्यवस्थापन गर्न सहकार्य गर्ने सहमति भएको थियो ।
साभार- कारोबार

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post