स्वयंसेवकले फर्काए सुनिताको खुसी

२५ साउन, काठमाडौं । नगरकोट १२ बाघमाराकी सुनिता तामाङलाई अस्थायी घर निर्माण गरी हस्तान्तरण गरिएको छ । भूकम्पकै कारण आफू बस्ने घर भत्किएपछि समस्यामा परेकी सुनितालाई युथ एक्सन नेपालबाट गएका स्वयंसेवक ‘(क्वेक भोलेन्टियर)’ ले अस्थायी भवन निर्माण गरी बसोबासको व्यवस्था मिलाएका छन् ।

बाघमारा गैरीगाउँकी २२ वषिर्या सुनिताका श्रीमानले एक वर्षअघि नै आत्महत्या गरी ज्यान गुमाएपछि उनी एक्लै बस्दै अाएकी छन् । श्रीमानको मृत्युपछि सासु ससुरासँग राम्रो सम्बन्ध नहुँदा उनी गाईबस्तुको गोठमा सानो खरको झुपडी बनाएर बस्दै आएकी थिइन् ।
प्रकाश भण्डारी, सुनिल सुवल, माधव घोरासैनी, लेखराज कार्की, सुविन सुवल, अाषिक यकामी, राजन ज्ञवालीको टोलीले एक हप्ता लगाएर बाँस र जस्ताको अस्थायी भवन निर्माण गरी शनिबार सुनितालाई हस्तान्तरण गरेका छन् ।
भवन हस्तान्तरणपछि खुसी भएकी सुनिताले भूकम्पको पीडा भूल्न नसकेपनि अस्थाई घर तथा विभिन्न क्षेत्रबाट भएको सहयोगले बच्चाहरुलाई ओतमा राख्न र रात कटाउन सहज भएको बताएकी छन् । सुनिताको भनाई उदृत गर्दै स्वयमसेवक प्रकाश भण्डारीले भने-‘यहाँ भन्दा ठुलो सहयोग के नै हुन सक्छ र घरबास नभएको अन्जान एकल महिलालाई घर तथा समाजले गर्न नसकेको सहयोग गर्नुभयो ।’
सामाजिक क्षेत्रमा काम गर्दै आएको युथ एक्सन नेपालले स्वयंसेवक परिचालन गरी भूकम्प प्रभावित क्षेत्रमा गएर अस्थायी आवास तथा राहत सहयोग गर्दै आएको छ ।
२०७२ साउन २५ गते ८:२८ मा  अनलाईन खबर डटकम मा प्रकाशित

कोरिया जाने इपिएस भाषा परीक्षा असार ४ र ५ गते

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेभएको छ । 

श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा आज बसेको निर्देशक समितिकोे बैठकले सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि काठमाडौँ उपत्यका र पोखरामा परीक्षा केन्द्र तोक्ने निर्णय गरेको हो । 

इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार बैठकले परीक्षाका लागि आगामी वैशाख १५ देखि १८ गतेसम्म दरखास्त सङ्कलन गर्ने निर्णय गरेको छ । 

यो वर्ष दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त सङ्कलन केन्द्र राखिनेछ । पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरुका लागि पोखरामा नै परीक्षा दिने व्यवस्था मिलाइएको छ । 

बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट परीक्षामा उत्तीर्ण हुनेलाई प्राथमिकतामा राख्न कोरिया सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ । 

यसअघि भदौमा भाषा परीक्षा लिने भनिए पनि मानव संशाधन विभाग (एचआरडी) कोरियाले चाँडै परीक्षा लिन आग्रह गरेपछि असारमा सारिएको हो । 

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार ८०० परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन् । 

यसवर्ष मेसिनले पढ्ने राहदानी (एमआरपी) भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कुल २०० पूर्णाङ्कको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिका समेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ । 

कोरियाले विगत जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजादैछ । परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन् । 

तर भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले दुई वर्षसम्म रोजगारदाताको मागअनुसार मात्र जान पाइने इपिएसले जनाएको छ । कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएको छ । 
विगतमा म्यानपावरबाट कामदार रोजगारीमा कोरिया जाने गरेको भएपनि म्यानपावरले बढी शुल्क उठाउन थालेपछि सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपिएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएको थियो । सम्झौतापछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सञ्चालन हुँदै आएको छ । 

यसअघिका वर्षमा ४० देखि ५० हजार युवाले परीक्षाका लागि आवेदन दिने गरेकामा सातदेखि आठ हजार उत्तीर्ण हुँदै आएका छन् ।
रासस 

' फ्री वाईफाई ' चलाउन जानुस रत्नपार्क ।।

५ चैत : राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् । 

रत्नपार्क तथा रानीपोखरी ईकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो । 

एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने ईकाइले अपेक्षा गरेको छ । 

इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन् । यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ । रासस

पुनर्निर्माण प्राधिकरणमा २६०० नयाँ रोजगारी

राष्ट्रिय पुननिर्माण प्राधिकरणले करिब २६ सय प्राविधिकका लागि नयाँ रोजगारीको अवसर खुलाएको छ  । शहरी विकास तथा भवन निर्माण विभाग ले पुनर्निर्माण प्राधिकरणमा काम गर्नका लागि अनलाइन मार्फत फारम खुलाएको हो । प्राधिकरणले आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर गरी  करिब २६ सय जना माग गरेको हो । 
इन्जिरियरिङका विद्यार्थीहरुले अनलाइनमार्फत १५ दिनभित्र शहरी विकास तथा भवन निर्माणमा आवेदन दिन सक्नेछन् ।

नारायणीको पुलबाट हाम फालेर महिला बेपत्ता

५ चैत- चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने नारायणीको पुलबाट नदीमा हाम फालेर आज बिहान एक महिला बेपत्ता भएकी छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा कास्कीको दाङ्सिङ गाविस वडा नं ९ बस्ने ४८ वर्षीया देशकुमारी शेर्पा रहेकी छन् । 

उनी हाम फालेको स्थानमा भेटिएको झोलाका आधारमा उनको परिचय खुलेको हो । बिहान ८ बजेर १५ मिनेट जाँदा उनी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । उनको सोही समयबाट वडा प्रहरी कार्यालय नारायणगढ र इलाका प्रहरी कार्यालय गैँडाकोटले खोजीकार्य जारी राखेको जनाएको छ । हाम फाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । रासस

नायब सुब्बा पदको परीक्षाको पहिलो चरणको नतिजा प्रकाशित

लोक सेवा आयोगले सुदूरपश्चिमाञ्चलमा लिएको नायब सुब्बा पदको परीक्षाको पहिलो चरणको नतिजा प्रकाशित गरेको छ ।दिपायलको सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयबाट सञ्चालन भएको अप्राविधिकतर्फको नायब सुब्बाको प्रथम चरणको नतिजा प्रकाशित भएको हो । गत फागुन २२ गते आयोगको सदुरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दिपायल र अञ्चल कार्यालय महेन्द्रनगरले सञ्चचलन गरेका प्रथम चरणको लिखित परीक्षाको नतिजा आएको हो । परीक्षामा सहभागी ४ हजार ४ सय ६८ परीक्षर्थीमध्ये १३७० जना उत्तीर्ण भएका छन्  । यसमा उत्तीर्णहरु अब दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् ।

नतिजा को लागी यहाँ क्लिक गर्नुहोला ।