असारे विकास : ५ दिनमा १५ लाख सक्न आजदेखि डोजर चल्न थाल्यो

प्रेम सुनार
गुल्मी – गुल्मीका तीनवटै क्षेत्रमा सांसद विकास कोष मार्फत डेढ करोडका दरले परेको निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम अन्तरगत कतिपय स्थानमा अहिलेसम्म काम नै सुरु भएको छैन । तर, असार लाग्ने बित्तिकै केही स्थानमा आइतबारदेखि र कतिले भोलिदेखि धमाधम काम शुरु हुन थालेको छ ।

कार्यक्रम अन्तर्गत परेका विकास निर्माणको रकम सर्वसाधरणलाई सुविधा दिने भन्दा पनि सांसदहरुका आ–आफ्ना कार्यतकर्ता रिझाउने र आ–आफ्नो दलको प्रभाव बढाउने खालका छन् । त्यही भएर असार मसान्तको मुखमा आएर सुरु हुन लागेका ति विकास निर्माण सम्पन्न गर्नका लागि भन्दा पनि रकम सक्नका लागि हो भन्ने सर्वसाधरणले आलोचना गर्न थालेका छन् ।
क्षेत्र नम्वर–१ को अवस्था
क्षेत्र नम्वर १ का सांसद कृष्णप्रसाद छन्त्याल मार्फत परेकोे डेढ करोड रकम अन्तरगतका अधिकांश विकास निर्माणका काम सम्झौता अनुसारको नरहेको त्यहाँका सर्वसाधरणाले बताएका छन् ।
दिव्रुङ्गको एक मोटरबाटाका लागि परेको १० लाख रुपैयाँको काम अहिले सम्म सुरु नै नभएको पाईएको छ । दिवु्रङ्गको अर्जेवा लुग्दी निउरेनी मोटरबाटोमा काम नै सुरु नभएको त्यहाँका सर्वसाधरणले बतउँछन् । तर त्यस मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष यदुलाल खरेलले भने अलिकति काम सुरु गर्ने वेलामा विवाद भए पछि रोकिएको दाबी गर्दै भोलिबाट डोजर चलाएर १० लाख वरावरको काम सक्ने बताए ।
‘सुरुमा हामीले यस वर्ष परेको त्यो १० लाख रुपैयाँ कागजमा मिलाएर अघिल्लो वर्ष मोटरबाटोेमा लागेको ऋण तिर्न खोजेका थियौं’– उनले भने –‘त्यसमा अरुले विरोध जनाएर विवाद हुँदा ढिला भएको हो । ’
उनले भोलिदेखि डोजर सञ्चालन गरेर त्यो १० लाख वरावरको काम सक्ने बताए पनि अब असार २५ गते सम्म मात्रै म्याद रहेकोले काम पूरा होला भन्नेमा स्थानियले आशंका व्यक्त गरेका छन् । त्यस क्षेत्रका अन्य थुप्रै स्थानमा पनि कतै काम सुरु नै नभएको र कतै यो असार मसान्तको मुखमा आएर काम सुरु गरिएको बताईएको छ ।
क्षेत्र नम्वर २ को अवस्था
क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारी मार्फत आउने डेढ करोड मध्ये दौघाको भुवाने चपलेटा वलेवा मोटरबाटोका लागि २०७२ साल फागुन ९ गते जिल्ला विकास समितिबाट १५ लाख रुपैयाँ स्वीकृती भएको थियो ।
तर यो असार मसान्तको मुखमा आई पुग्दा समेत काम सुरु नभए पछि स्थानियको दवावमा त्यस उपभोक्ता समितिका अध्यक्ष देवबहादुर ज्ञवालीले बल्ल आजदेखि डोजर चलाउन गर्न सुरु गरेका छन् । ‘किन यति ढिलो त ?’ भन्ने प्रश्नमा उनले बैशाखमा जिविससंग सम्झौता भए देखि डोजर खोज्दा कतै नपाए पछि ढिला हुन गएको बताए ।
‘असार २५ गते देखि उता फरफारक गर्न पाईदैन् , यो अवस्थामा अवको चार पाँच दिनमा १५ लाखको काम होला त ?’ भन्ने प्रश्नमा उनले भने–‘ किन हो नसकीने ? सकिएला भनेर त काम सुरु गरिएको हो । ’ दिन–रात डोजर चलाएर पनि त्यो १५ लाखको काम गर्ने दाबी गरे ।
उनले सञ्चालन गरेको डोजरको सरदर रेट प्रति घण्टा पाँच हजार रुपैयाँ भएको बताईएको छ । यस हिसावले दिनमा १२ घण्टा र रातमा पनि वाह्रै घण्टा डोजर चलाए पनि २४ घण्टाको १ लाख २० हजार र अबको ५ दिनमा जम्मा ६ लाखको मात्रै काम हुने देखिन्छ ।
तर आम रुपमा अहिले सम्म बढिमा दिनको आठ दश घण्टा भज्दा बढि डोजर चलेको पाइएको छैन ।
क्षेत्र नम्वर २ कै रेसुङ्गा नगरपालिका अन्तरगत अर्खले भुवनपानी स्थित जनसहयोग माविमा तारवारका लागि परेको १० लाख रुपैयाँको काम पनि अझै काम सुरु नभएको स्थानीयवासीले बताए ।

क्षेत्र नम्वर–३ को अवस्था
क्षेत्र नम्वर ३ का सांसद गोकर्णराज विष्ट मार्फत परेको डेढ करोडको निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रममा पनि अवस्था १ र २ नम्वर क्षेत्रको भन्दा कम छैन ।
केहि दिन अघिको सम्वाद कार्यक्रममा सांसद विष्ट आफैले आफुले माग गरे अनुसारको रकम पारे पनि काम सन्तोषजनक नभएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । उनले भनेका थिए – ‘एउटा सांसदले त विकास वजेट पार्न पहल गर्ने हो तर परेको त्यो वजेटलाई सहि सदुपयोग गर्ने जिम्मेवारी जिल्लाकै सम्वन्धित निकाय र राजनीतिक दलका अगुवा साथीहरु हो । भने जस्तो काम हुन नसकेकोमा असाध्यै दुःखी छु । ’
उनीद्वारा परेको पुर्वधार विकास कार्यक्रम अन्तर्गत भञ्ज्याङ्ग निस्ती अमराई ढाँडा रङ्गनाम पौद मोटरबाटोका लागि परेको १५ लाख सक्न वल्ल अहिले आएर डोजर सञ्चालन गर्न थालिएको नेकपा एमालेकै एक कार्यकर्ताले बताए ।
नाम नबताउने सर्तमा उनले भने – ‘त्यस मोटरबाटोसहित अन्य थुप्रै स्थानमा पनि कतै काम सुरु भएकै छैन भने कतै भर्खर डोजर चलाउँदै छ तपाई ति स्थानमा आफै गएर हेनुहोस् वर्षायाम लागेदेखि विकासका लहरहरु निकै चलेका छन्् । उनले थपे– ‘उनै वर्षयामका विकास प्रेमीहरुलाई सोध्नुुस् अवको चार पाँच दिनमा कतै १० लाख र कतै १५ लाखको काम कुन स्तरमा सम्पन्न होला ? भनेर ।’
जिल्ला विकास समितिले सार्वजानिक गरेको विवरणमा ७ देखि १५ लाख सम्मका प्रत्येक निर्वाचन क्षेत्रमा १५÷१५ वटा विकास निर्माणहरु निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमहरु अन्तरगत सञ्चालित छन् ।
मूल्याङ्कन गरेर मात्रै भुक्तानी दिन्छौं : एलडियो
यस सम्वन्धमा स्थानिय विकास अधिकारी डिलाराम पन्थीले धेरै जसो स्थानमा काम सम्पन्न भएको दावी गरे । उनले भने–‘ हामीले अनुगमन गरी सकेका छौ, धेरै स्थानमा काम भइसकेको छ , केहि स्थानमा गरिदै छ अब त्यसको मूल्याङ्कन गरेर मात्र भुक्तानी दिईने छ । ’
‘दौघाको मोटरबाटोमा परेको १५ लाख रकमको काम वल्ल आज सुरु हुँदै छ र त्यहाँ जस्तै अन्यत्र पनि थुप्रै स्थानमा अहिले असार मशान्तको मुखमा आएर डोजर चलाईदै छ नि ?’, भन्ने प्रश्नमा उनले भने– ‘असार २५ गते सम्म चलाउन पाईन्छ । यस विचमा गरिएका काम जति भएका छन् त्यसको मूल्याङ्कन गरेर मात्र रकम भुक्तानी दिईने छ ।
अनुगमन टोली दुई दिनमा दुई लाख सकेर आयो
यस कार्यक्रम अन्तरगतका विकास निमार्णहरुको अनुगमन गर्न जिल्लाका ३ वटै क्षेत्रमा पुगेको टोली दुई दिनको अनुगमन सकेर फर्किएको छ । प्रति निर्वाचन क्षेत्रमा दुई दुई वटा गाडीमा चालक दल सहित २१ जनाको टोलीले वर्षायाममा बाटो बिग्रेर एकदेखि अर्को स्थानमा पुग्न नसकिएको र निकै दुःख पाएर फर्किएको बताएको छ ।
उक्त अनुगमनका लागि दुई लाख रुपैयाँ खर्च छुट्टाईएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले जानकारी दिए । उक्त रकम खर्च भए पनि अनुगमनका नाममा कतै पाइएका अनियमितता समेत अनुमोदन जस्तै हुन पुगेको त्यस टोलीमा सहभागी एकले बताए ।
@Ratopati/Prem Sunar

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post