महिलालाई स्वस्थ राख्ने यस्ता छन् ६ टिप्स

स्वस्थ रहन चाहनु हुन्छ भने, उपाय फेला पार्न कठिन छैन। स्वस्थ रहने यात्राको सुरुवात तपाईंको जीवनशैलीको सुधारबाट हुन्छ। त्यसपछि उपयुक्त भोजन, व्यायाम र तनावमुक्तिका योजनाको ठूलो भूमिका रहन्छ। शारीरिक रुपमा महिलाले आफूलाई तन्दुरुस्त र फुर्तिलो राख्न यस्ता कोसिस गर्न सक्छन्।
स्वस्थ भोजन गर्नुहोस्
तपाईं मुटसम्बन्धी रोग र मस्तिष्कघातबाट सुरक्षित रहन चाहनुहुन्छ भने त्यसका लागि भोजनको सूची यस्तो हुनुपर्नेछः
– फलफूल र सागसब्जी बढी मात्रामा खानुहोस्।
– सेतो चामलको साटो ब्राउन राइस (खैरो चामल) र सग्लो अन्न खानुहोस्।
– बोसोरहित प्रोटिन, कुखुरा, माछा, सिमी÷बोडी र अन्य कोसे तरकारी खानुहोस्।
– प्रशोधित खाद्य पदार्थ (जंक फुड), चिनी, नुन र स्याचुरेटेड फ्याटको मात्रा घटाउनुहोस्।
‘स्वस्थ भोजन गर्दा लचकता अपनाए बढी प्रभावकारी हुन्छ,’ युकोन हेल्थस्थित प्याट एन्ड जिम काहुन कार्डियोलजी सेन्टरका एमडी तथा एसिस्टेन्ट प्रोफेसर जोइस मेङ भन्छन्, ‘तपाईंले ‘डाइट प्लान’ पछ्याउन चाहनु हुन्छ भने ढिलो नगर्नुहोस्। र, डाइट प्लान फलो गर्नुहुन्न भने आफूलाई के उपयुक्त हुन्छ, त्यो उपाय खोज्नुहोस्।’
‘के नाइन फिट क्लब’की संस्थापक ५२ वर्षीया ट्रिकिया मोन्टगोमरीलाई राम्रो जानकारी छ कि उचित आहार र उपयुक्त जीवनशैलीले महिलालाई स्वस्थ रहन सघाउँछ। स्वस्थ भोजन र बीच–बीचमा थोरै–थोरै तर धेरै पटक खानेकुरा खाँदा स्वस्थ रहन निकै सहज भएको उनले अनुभव गरेकी छिन्।
‘म यो खान्नँ, त्यो खान्नँ भन्दिनँ,’ उनी भन्छिन्, ‘म अझै डेजर्ट खान्छु, लाइम पाई खान्छु। त्यस्तै फ्रोजन गमी वियर खान्छु। तर, मुख्य कुरा हो भोजनमा सुधार गरेर मात्र।’
नियमित व्यायाम
मेङ भन्छन्, ‘तपाईं जति सक्रिय बन्नुहुन्छ, त्यति राम्रो। व्यायामले तपाईंको मुटु स्वस्थ्य राख्छ, मांसपेशी वृद्धि गर्छ र हाड बलियो पार्छ। साथै यसले स्वास्थ्य सम्बन्धी कतिपय रोग/समस्याबाट जोगाउँछ।’
हरेक साता दुई वा अढाई घन्टा तीव्र गतिमा हिँड्नुहोस् वा नृत्य गर्नुहोस्। यदि तपाईं कडा शारीरिक व्यायाम गर्न सक्नु हुन्छ भने हरेक साता एक घन्टा १५ मिनेट टेनिस खेल्ने वा दौडने गर्नुहोस्। अथवा नियमित केही कडा व्यायाम गर्नुहोस्।
तपाईं व्यस्त हुनुहुन्छ भने कामको बीच–बीचमा एकै छिन गतिशिल हुनुहोस्, खासगरी हिँड्नुहोस्। दिनमा कम्तिमा पनि १० हजार पाइला हिँड्नु उपयुक्त हुन्छ। सिँढी चढ्नुहोस्। कार्यालय वा जहाँ जाने हो त्यहाँबाट केही पर आफ्नो सवारीसाधन पार्क गर्नुहोस्।
मोन्टगोमरी दैनिक व्यायाम गर्छिन्। उनी नियमित हिँडाइसँगै थोरै दौडिने, निहुरिएर गरिने व्यायाम गर्ने र सिँढी उक्लिने–ओर्लिने गर्छिन्। उनी आफ्नो ‘वाक’लाई नै ‘पावर वर्कआउट’मा परिवर्तन गर्छिन्।
‘दैनिक एक घन्टा कडा व्यायाम गर्नुपर्छ भन्ने छैन,’ मेङ भन्छन्, ‘केही कम गरे पनि पुग्छ, तर सक्रिय हुनुपर्‍यो।’
तौल घटाउनुहोस्
तपाईं मोटो हुनुहुन्छ भने शरीरको तौल घटाउनुहोस्। यसो गर्नाले तपाईं आफूलाई मुटुसम्बन्धी रोग, टाइप–२ मधुमेह र क्यान्सर लाग्न सक्ने जोखिम घटाउन सक्नु हुन्छ। एकैपल्ट ह्वात्तै घटाउनुको साटो बिस्तारै तौल घटाउनुहोस्। सातामा १–२ पाउन्ड घट्ने गरी आफ्नो खानपान सुधार्नुहोस् र शारीरिक रुपमा सक्रिय हुनुहोस्।
तौल घट्दै गएपछि वा सुधार हुँदै गएपछि आफूले कति बेर कडा व्यायाम गर्न सकिन्छ हेर्नुहोस्। यदि तपाईं धेरै तौल घटाउन चाहनु हुन्छ भने सातामा ३ सय मिनेट व्यायाम गर्ने प्रयास गर्नुहोस्।
‘व्यायामसँगै स्वस्थ र पोषिलो भोजन गर्नु आवश्यक छ,’ मेङ भन्छन्। सुरुमा चिनीको मात्रा घटाउनुहोस्। किनभने हामीलाई आवश्यक चिनीको मात्रा सलादका फलफूल, पाउरोटी र बदामबाटै पर्याप्त पाइन्छ। त्यसैगरी सोडा र चिनी मिसाइएका कफी र पेय पदार्थ पनि नखानुहोस्।
चिकित्सकसँग परामर्श गर्नुहोस्
नियमित स्वास्थ परीक्षण गराउनुहोस्। चिकित्सकले तपाईंको मेडिकल इतिहास सबै ट्र्याक गरेका हुन्छन्। यसबाट तपाईलाई स्वस्थ रहन सघाउ पुग्छ। उदाहरणका लागि यदि तपाईंलाई ‘अस्टिओपोरोसिस’ (हाड कमजोर हुने स्थिति) को जोखिम भए चिकित्सकले तपाईंलाई क्याल्सियम र भिटामिन–डी खाने सल्लाह दिन्छन्।
त्यस्तै, चिकित्सकले तपाईंलाई कुनै जोखिम रहे÷नरहेको ल्याब टेस्ट गराउँदा कतिपय कुरा बेलैमा थाहा पाउन सकिन्छ र बेलैमा उपचार पनि हुन्छ।
‘तपाईंका केही जिज्ञासा भए चिकित्सकलाई सोध्नुहोस्,’ मेङ भन्छन्, ‘र उत्तर चित्तब ुझ्दो तथा बुझिने छ–छैन ख्याल गर्नुहोस्।’ तपाईं कुनै औषधि वा उपचार प्रक्रियामा चिन्तित हुनुहुन्छ भने चिकित्सकसँग सल्लाह गर्नुहोस्। मेङ सुझाउँछन्, ‘दैनिक केही समय आफ्नो स्वास्थ्यमा खर्चनुहोस्।’
तनाव घटाउनुहोस्
पूर्णरुपमा तनावमुक्त हुन सम्भव नभए पनि धेरै हदसम्म घटाउने उपाय अपनाउनुहोस् र आफ्नो स्वास्थ्यमा तनावको असर पर्न नदिनुहोस्। व्यावहारिक रुपमै आफ्ना कामको बोझ कति लिने भन्ने कुरामा स्पष्ट हुनुहोस् र अरुसँगको सम्बन्धमा पनि सीमारेखा बनाउनुहोस्। तनाव लिनुभन्दा कहिलेकाहीँ नाइँ÷हुँदैन भन्नु पनि उचित हुन्छ।
तनाव घटाउन यी प्रयास गर्न सक्नुहुनेछः
–    गहिरो सास लिने,
–    योग,
–    मसाज (मालिस),
–    व्यायाम,
–    स्वस्थ भोजन,
–    साथीभाइ, परिवारका सदस्य वा परामर्शदातासँग कुराकानी।
स्वस्थ बानी विकास गर्नुहोस्
तपाईंले आज संकल्प गर्नुभयो र असल बानी विकास गर्नु भयो भने भोलि आइपर्ने समस्या सुल्झाउन सफलता मिल्नेछ। निम्न अनुसारका स्वस्थ बानी विकास गर्ने संकल्प गर्नुहोस्ः
–    दैनिक दुईपल्ट दाँत माझ्नुहोस्।
–    धूमपान नगर्नुहोस्।
–    मदिरापान नगर्नुहोस्, गर्नै परे थोरै गर्नुहोस्।
–    औषधि सेवन गर्दै हुनुहुन्छ भने चिकित्सकले जसरी प्रेस्क्राइब गरेको छ त्यसरी नै सेवन गर्नुहोस्।
–    निद्रा पूरा गर्नुहोस्। भरसक दैनिक ८ घन्टा सुत्नुहोस्। तपाईंलाई निद्रा लाग्दैन भने चिकित्सकको परामर्श लिनुहोस्।
–    सनस्क्रिन लगाउनुहोस् र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको घामबाट जोगिनुहोस्। आदि।
यी सारा कुराले मोन्टगोमरीलाई भने फाइदा गरेको छ। अहिले आफूले स्वास्थ्य समस्याबाट पार पाएको उनी बताउँछिन्। ‘म आफूलाई स्वस्थ अनुभव गर्छु। जीवनप्रति सकारात्मक दृष्टिकोण विकास भएको छ,’ उनी भन्छिन्, ‘मेरो जीवन त सधैंका लागि कायापलट नै भयो।’

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post