प्रसन्न रहने पाँच उपाय

प्रविधिलगायत जीवनका सबै क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हाम्रो जीवनशैली अत्यधिक तनावपूर्ण बन्दै गएको छ । यसै सन्दर्भमा विश्वभर बर्सेनि मार्च २० मा अन्तर्राष्ट्रिय प्रसन्नता दिवस (इन्टरनेसनल ह्याप्पिनेस डे) मनाउने गरिएको छ । दैनिक तनावबाट केही मात्रामा भए पनि मुक्त हुन प्रसन्नता विशेषज्ञ तथा लेखिका नटाली स्याभीडेज विभिन्न सुझाव दिन्छिन्।  
उनले दिएका सुझाव हामीले आफैंसँग, परिवारसँग र अरुसँगको सम्बन्ध सुधार समेटिएका छन् । तनावमुक्त भई प्रसन्न रहन उनले दिएका ५ सुझाव यस्ता छन्।
१. अरुलाई सहयोग गरौं : अरुलाई सहयोग गर्दा ठूलो आत्म सन्तुष्टि पाइने हुनाले अरुलाई आफूले सकेको सहयोग गरौं । अरुलाई गरेको सहयोगले आत्म सन्तुष्टि पाइने मात्र नभएर हामीले त्यसको राम्रो प्रतिफल पनि पाउँछौं र यसले हाम्रो जीवनमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । सहायता गर्दा हाम्रो मस्तिष्कको एउटा भागमा प्रसन्न बनाउने रसायन प्रवाह हुन्छ । त्यसैले तपाईं अभावग्रस्त व्यक्तिहरूलाई जति धेरै सहयोग गर्नुहुन्छ, त्यति नै आनन्दित र सन्तुष्ट हुनुहुन्छ। 
२. योजनाबद्ध काम : हामीले योजनाबद्ध रुपमा दैनिक काम र समयको उपयोग गर्दा हामी हतारोबाट जोगिन्छौं, जीवनशैली सहज हुन्छ र आराम महसुस गर्छौं । योजनाबद्ध काम गराईले जीवनयापन सहज बनाउँछ र समय तथा काम हाम्रो नियन्त्रणमा हुन्छ । कामका जोखिम र भैपरी आउने समस्याको अग्रिम तयारी गर्न सकिने हुन्छ, जसले जीवनमा तनाव कम गर्छ र प्रसन्नता बढाउँछ । योजनाबद्ध काम गराईले काममा त्रुटी हुने सम्भावना न्यून हुनुका साथै यसले समस्या र झन्झट पनि घटाउँछ।
३. तुलना नगर्ने : आफूलाई अरु कसैसँग पनि तुलना नगर्ने । धेरै व्यक्तिले आफूलाई त्यसरी ‘प्रोजेक्ट’ (देखाउँछन्) गर्छन्, जुन उनीहरूको वास्तविक प्रतिबिम्ब हुँदैन । उनीहरूको बाहिरी व्यवहार र स्वरुप एउटा हुन्छ, भित्री व्यवहार र स्वरुप त्योभन्दा फरक वा विपरीत हुन्छ । त्यसैले आफूलाई अरुसँग तुलना गर्नु अनुपयुक्त हुन्छ । अरुसँग तुलना गर्दा आफू प्रसन्न रहन सकिँदैन।
४. कृतज्ञ बन्नुहोस् : आफ्नो जीवनमा भएका वा आफूले पाएका सबै राम्रा÷असल कुराहरू स्मरण गर्नुहोस् र ती पाएकोमा ती सबै कुराप्रति कृतज्ञ हुुनुहोस्– आफ्नो सुस्वास्थ्य, भोजन, अध्ययनको अवसर, आमाबुवा, घरपरिवारदेखि सबै कुराहरूप्रति । कृतज्ञ हुनुले र प्रशंसा गर्नाले प्रसन्नता बढाउँछ, आफ्नो पनि र अरुको पनि । तर झुठो÷ओठे प्रशंसा गर्नबाट भने जोगिनुहोस् । हामी जीवनमा जति धेरै कृतज्ञ बन्छौं र हामीसँग जे छैन त्यसलाई छाडेर जे छ त्यसमा आफूलाई केन्द्रित र त्यसको उपयोग गर्छौं त्यति नै धेरै स्वाभाविक प्रगति गर्छौं र सकारात्मक हुन्छौं।
५. गहिरो श्वासप्रश्वास : गहिरो श्वास लिन नबिर्सिनुहोस् । नहतारिनुहोस्, एकैछिन रोकिएर केही सेकेन्ड आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस् र एकपटक लामो, गहिरो श्वास लिनुहोस् । सधैं नियमित यसो गर्दा तपाईंले आफूलाई तनावमुक्त र ऊर्जायुक्त पाउनुहुनेछ । गहिरो श्वास लिँदा शरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन्छ र तपाईंको शरीर तथा मस्तिष्कले पर्याप्त ऊर्जा पाउँछन्।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post