छापिएको कागजमा पोको पारेको खान्की मानव स्वास्थ्यको लागि खतरा !

उहिल्यैका मानिसहरुले भाँडा वर्तनको सहज पहुँच नहुँदा मेलापातमा अनि अर्थात् खाजा लैजाँदा घरकै निवाराको पात, केराको पात, कटुस र सालका पातका टपरी प्रयोग गर्दथे । ती पातमा दिइएको खाने कुराले मानिसलाई कुनै असर गर्दैनथ्यो ।
तर, हिजोआज मानिसको खानपान र आनीबानी परिवर्तन भएको छ । हिजो प्रयोग हुने ती गाउँले जनजीवनका अस्थायी भाँडा वर्तन अहिले प्रयोगमा कमै आउने गरेका छन् ।
बजारमा भने यिनै अस्थाई भाँडा वर्तनको रुपमा कागजका भाँडा वर्तन आएका छन् । ती पनि अत्यन्तै हानिकारक मासी प्रयोग भएका कागजहरु रहेका छन् ।
बजारका मासु पसले, दुनोट पसले, चट्पट पसले र पानीपुरी पसलेले हिजोआज यस्ताखालका भाँडावर्तन प्रयोग गर्ने गरेको पाईन्छ । उनीहरुले प्रयोग गर्ने अस्थायी भाँडा वर्तन अधिकांश छापिएका कागजको हुने गर्दछन् ।
प्रेसमा छापिएका दैनिक, साप्ताहिक, पाच्छिक, मासिक पत्रिकादेखि अन्य छापिएका पाठ्य पुस्तकहरु यस्ता अस्थायी भाँडा वर्तनको रुपमा व्यापारीहरुले प्रयोग गर्दै आएका छन् । यस्ता पेपरमा पसलेले दिएको खानेकुराले मानव शरिरमा कति असर गर्छ भन्ने कुरा कमैले मात्र हेक्का राखेका होलान् ।
साना बालबालिकादेखि टीनएजरका युवायुवतीले चना चट्पट्, पानीपुरी खाने भाँडा वर्तन अहिले यिनै छापिएका कागजका हुने गरेका छन् ।
पोखराको सिद्यार्थचोकमा रहेको एक पानीपुरी पसलमा पानीपुरी मागेकी मालेपाटनकी भगवती केसीलाई पसलेले कागजमा पानीपुरी दिए । पानीपुरी हातमा समाउन नपाउँदै चुहिएर हत्केला भरी भयो । उनले दिएको छापिएको कागज सबै भिजिसकेको थियो । उनले त्यो पेपर तर्काउँदै पानीपुरी खाएर सरासर पैसा तिरेर बाहिरिइन् ।
कागजमा खाँदा के हुन्छ ? तपाईलाई थाहा छ भन्दा केही थाहा नभएको बताउने भगवतीले सबै साथीले यसैगरी यो अंकलले दिएको खान्छन् भन्दै तर्किइन् । तर, त्यहाँ भगवतीले पानीपुरी मात्रै खाईनन् उनले अनाहकमा दीर्घरोग समेत किनमेल गरिन् ।
भगवतीलाई यो कुरा अहिले थाहा छैन्, पछि कुनै बेला पेटको क्यान्सरका रुपमा सो कागजमा दिएको पानीपुरीको असर निस्कनेमा दुईमत छैन । यसरी पानी कागजमा पानीपुरी खाने भगभती त एक प्रतिनिधि पात्र मात्र हुन् ।
हिजोआज भगवती जस्ता लाखौं युवायुवती र बालबालिकाले यस्तै छापिएका कागजमा दिएको बजारको जंङ्क फूड सेवन गर्दै आएका छन् ।
प्रेसमा छापिएको कागज एक दुईघण्टा नबित्दै बजारमा जान्छ । बजारमा पसलेले त्यही पेपरमा खानेकुरा पोको पारेर दिने गर्छन् । जुन छापिएको खतरनाक मसी कागजमा सुकिसकेको हुँदैन । त्यो मसी खानेकुरामा लाग्छ ,
यसरी छापिएको कागजमा पोको पारेर दिएको खाने कुराले मानिसलाई दीर्घरोगी समेत बनाउने गरेको छ । यसको प्रमुख कारण हो पेपर छपाईमा प्रयोग हुने मसी । पेपर छपाईमा प्रयोग हुने मसीमा फ्रि रेडिकल नामक विषादी हुने गर्दछ ।
यो विषादीले मानिसलाई क्यान्सर, छालाको एलर्जी जस्ता रोग लाग्ने डाइटिसियन श्रीवीद्या कायस्थ बताउँछिन् । सादा पेपरमा र्यापिङ गरिएको खानेकुराले मानव स्वास्थ्यमा कुनै असर नपारे पनि छापिएको पेपरमा बेरिएको खानेकुराले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने उनको भनाई छ ।
@Ratopati

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post